रुपाकोट रेडियो, खोटा असार २७ गते ।खोटाङको चार गाविसलाई चिया उत्पादन गर्ने क्षेत्रको रुपमा विकास गरिने भएको छ । जिल्लाको खार्मी, पाथेका, नुनथला र फेदी गाविसलाई चिया उत्पादन गर्ने क्षेत्रका रुपमा विकास गरिने भएको हो । चिया उत्पादन क्षेत्र बनाउन यस वर्षदेखि स्थानीय कृषक समुहलाई चियाको बिरुवा वितरण गर्न थालिएको जिल्ला कृषि विकास कार्यालय खोटाङका प्राविधिक सहायक कौशलकुमार शाहले बताउनुभयो । प्राविधिक सहायक शाहका अनुसार अहिलेसम्म चार गाविसका लागि चार हजार चियाको विरुवा वितरण गरिएको छ । यसका लागि प्रत्येक गाविसमा कृषि कार्यालयबाट खटाइएको कृषि प्राविधिकहरुको समन्वयमा कृषक समूह गठन गरिएको कार्यालयले जनाएको छ । गाविसमा गठित कृषक समूहको सक्रियतामा कार्यालयबाट वितरण गरिएको चियाको बिरुवा लगाइएको प्राविधिक सहायक शाहको भनाइ छ । यस वर्ष गरिएको परीक्षणको आधारमा प्रत्येक वर्ष ती गाविसहरुमा चियाको बिरुवा थप गर्दै लगिने कृषि बिकास कार्यालयले जनाएको छ ।