असार २४ ( भारतको बिहार राज्यको चिरैयामा शुक्रबार राती मृत अवस्थामा भेटिएका सन्तोष कुमार गुप्ता आफ्नो एफएमसँग सम्बन्धित व्यक्ति नभएको बिन्दास एफएमका अध्यक्ष रामचन्द्र यादव आरसीले दाबी गर्नुभएको छ । आइतवार वीरगन्जको होटल सम्झनामा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष आरसी यादवले सन्तोष गुप्तासँग बिन्दास एफएमको कुनै सम्बन्ध नै नरहेको र उहाँले एफएममा कुनै पनि लगानी नगरेको दाबी गर्नुभयो ।पत्रकार सम्मेलनमा सहभागी फोटो पत्रकारहरुले बिन्दास एफएमको उद्घाटनका बेला भएको पूजामा सन्तोषकुमार गुप्ता र उहाँकी श्रीमती समेत सहभागी भएको तस्वीर समेत देखाइ दिएपछि आरसी यादवले पत्रकारहरुले आप्mनो कार्यालयको कम्प्युटरबाट दादागिरी गरेर महत्वपूर्ण सूचनाहरु चोरी गरेको आरोप लगाउनुभयो ।सन्तोष गुप्ताको मृत्युको खबर पछि जिल्ला प्रहरी कार्यालय पर्साबाट पुगेको प्रहरी टोलीले बिन्दास एफएमको वीरगन्ज पानीटंकी स्थित कार्यालयमा खानतलाशी गरेर गुप्तासँग सम्बन्धित प्रमाणहरु संकलन गरेको थियो । रक्सौलस्थित श्रोतका अनुसार बिन्दास एफएममा सन्तोषकुमार गुप्ताले चार लाख रुपैयाँ लगानी गरेका थिए ।सन्तोष गुप्ताले कलैयाको भवानीपुरबाट नेपाली नागरिकताको प्रमाण पत्र लिएको भएपनि नागरिकता छानबिनमा पर्न सक्ने भएकाले नेपाली नागरिकता भएकी आफ्नी श्रीमतीको नाममा एफएमको शेयर हस्तान्तरण गर्ने योजना बनाएका थिए ।सन्तोषकी श्रीमती गर्भवती भएकाले शिशु जन्मिएपछि अनुकूल समय मिलाएर काठमाण्डौं गएर सञ्चार मन्त्रालयमा शेयर नामसारीको कागज पत्र तयार पार्ने सहमती पनि एफएमका सञ्चालकहरु बीच भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।तर बिन्दास एफएमका अध्यक्ष आरसी यादवले बिन्दास एफएममा सन्तोष कुमार गुप्ताको कुनै पनि लगानी नभएको दाबी पटक पटक दोहोर्याउनुभयो । बिन्दास एफएममा आरसी यादव, रक्सौलमा सुर्तीको व्यापार गर्ने पप्पु भनिने पन्नालाल साह तेली र सन्तोष कुमार गुप्ताको लगानी रहेको सम्बद्ध श्रोतले जानकारी दिएको छ ।