इन्द्र बजगाँई, ताप्लेजुङ साउन १५ गते !!!! तमोर नदीमा आएको भेलले सुकेपानी क्षेत्रको काठे पुल बगाएपछि उत्तरी ताप्लेजुङको पर्यटकिय स्थल ओलाङचुङगोला जाने पदमार्ग अवरुद्ध भएको छ । शनिवार राति आएको भेलले तमोर नदीमाथि लगाएको काठेपुल बगाएपछि पदमार्ग अवरुद्ध भएको गोलाका छेतेनडण्डु शेर्पाले जानकारी दिनुभयो । शेर्पाका अनुसार पदमार्ग अवरुद्ध भएपछि ५ दिन भन्दा बढी समय लगाएर घुन्साबाट ढासा हुदै ओलाङचुङगोला झर्नु पर्नेछ भने अर्को तर्फ पापुङको सिम्बुकबाट लोदेन हुदै गोला आई पुग्नु पर्नेछ । सुकेपानी पुल कायम रहदा २ देखि अढाई दिनमा गोला पुग्ने गरिएकोमा यो मार्ग अवरुद्ध भएपछि ५ दिन बढी समय लाग्ने पनि शेर्पाले जानकारी दिनुभयो । यता जिल्लाको मेहेले गाविसमा श्रृङखलाबद्ध गएको पहिरोले एक महिनाको अवधिमा २६ घर विस्थापित भएका छन् । पछिल्लो पटक शनिवार साँझ मेहेले ६ को सल्लेरी भीरबाट आएको पहिरोले सुरेन्द्रकुमार कार्कीको घर पूर्णरुपमा भत्किएको छ । पहिरोले घर तथा मतानमा रहेको अन्न, लत्ताकपडा सबै पुरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।