साउन ६ गते । काठमाडौं राजधानीमा चलिरहेको एकीकृत माओवादीको सातौं विस्तारित बैठक आज सकिँदै छ । विभिन्न विषयमा विवाद देखिएपछि पटक पटक अवरुद्ध हुँदै आएको थियो । बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि आज अन्तिम टोलीले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछ । हिजोसम्ममा १३ वटा समूहले आफ्नो निष्कर्ष प्रस्तुत गरिसकेका छन् । बाँकी रहेको नेवा राज्य समितिका तर्फबाट आज निष्कर्ष प्रस्तुत हुने र त्यसपछि उठेका जिज्ञासाहरूका विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुहुने कार्यक्रम छ । छलफलका क्रममा उठेका विभिन्न सवालहरूमा उपाध्यक्षहरू डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पनि आफ्नो भनाइ राख्नुहुने कार्यक्रम छ । आर्थिक अनियमितता, सरकारले भारतसँग गरेको विप्पा सम्झौताजस्ता विषयहरूमा चर्को विवाद भएपछि साउन २ गतेदेखि सुरु भएको विस्तारित बैठक पटक पटक प्रभावित बन्यो । हिजो अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री तथा उपाध्यक्ष डा. बाबुराम भट्टराई खेमामा विभक्त कार्यकर्ताहरूबीच भनाइ राख्ने विषयमा विवाद भएपछि तनाव भएको थियो । कुर्सी हानाहानको अवस्थासमेत सिर्जना भएपछि बैठक केहीबेर स्थगित गरिएको थियो । आजको बैठक बिहान ११ बजेपछि सुरु हुने प्रचारप्रसार उपसमितिले जनाएको छ ।