काठमाडौं असार ३१ गते । राजधानीको थापाथलीस्थित बाग्मती नदी किनारबाट हटाइएका सुकुम्बासीलाई आज सुन्दरीघाटमा सारिने भएको छ । वृद्ध, असहाय, सुत्केरी लगायतलाई पहिलो चरणमा सुन्दरीघाट सार्ने तयारी भइरहेको छ । पहिलो प्राथमिकतामा परेका ११ परिवारलाई सार्ने तयारी भएको स्रोतले बताएको छ । सुकुम्वासीलाई अस्थायी स्थानान्तरणका लागि ललितपुरको सुन्दरीघाटमा टहरा तयार भएका छन् । सुन्दरीघाटका स्थानीय बासिन्दाको विरोधका बाबजुद पनि सरकारले बाक्लो मात्रामा सुरक्षाकर्मी खटाएर २३ टहरा तयार पारेको हो । सुन्दरीघाटमा सर्न मान्नेहरुलाई आधार मानेर थप टहरा बनाइने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।