आज जुलाई २९ अर्थात विश्व बाघ संरक्षण दिवस, नेपाल लगायत विश्वभर बिभिन्न चेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइदैछ । ‘वन्यजन्तु अपराध रोकौं, यी मृत्यु गम्भीर हुन्’ भन्ने नाराका साथ यो वर्षको बाघ संरक्षण दिवस मनाउन लागिएको हो । बाघ दिवसको अवसर पारेर आज बर्दिया राष्ट्रिय निकुञ्जमा भएका बाघको तथ्याङ्क सार्वजनिक गरिँदैछ । सन् २००९ को तथ्याङ्कअनुसार बर्दियामा १८ बाघ थिए । स्रोतका अनुसार बर्दियामा बाघको संख्या अहिले झन्डै दोब्बर भएको छ । दिवसकै अवसरमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललाई विश्व बन्यजन्तु कोष (डब्लुडब्लुएफ) को सद्भावना दूत घोषणा गर्ने तयारी छ । सन् २०२० सम्ममा नेपालमा बाघको संख्या दोब्बर पार्ने सरकारको योजना छ । संरक्षण प्रयासले सफलता प्राप्त गर्न सके सन् २०२० सम्ममा बाघको संख्या दोब्बर बनाउन सकिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । बाघको चोरी, शिकारी बाघ संरक्षणको मुख्य चुनौती रहेको आचार्यको भनाइछ ।