काठमाडौं साउन ९ गते । एकीकृत नेकपा माओवादीको महाधिवेसन आयोजक समितिको बैठक आज बस्दैछ । विस्तारित बैठकका निर्णयको कार्यान्वयन र महाधिवेसन अघिको तयारीका विषयमा छलफल गर्न आयोजक समितिको बैठक बस्न लागेको हो । दिउँसो १ बजे पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा विस्तारित बैठकको समीक्षा र विस्तारित बैठकले गरेका निर्णय कार्यान्वयन लगायका विषयमा छलफल हुने पोलिट्व्युरो सदस्य शक्ति बस्नेतले जानकारी दिनुभयो । महाधिवेसनको तयारी सँगै विस्तारित बैठकले गरेको निर्णय, सरकारले गरेको पछिल्ला निर्णय, सेना समायोजनको प्रक्रिया, लडाकुहरुको असन्तुष्टि लगायतका विषयमा छलफल हुने बस्नेतले बताउनुभयो । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईको सचिवालय परिवर्तन, नेताहरुको सांगठनिक कार्यविभाजन, महाधिवेसन आयोजक समिति विस्तारको बारेमा पनि छलफल हुनेछ । त्यसअघि अहिले बिहान पदाधिकारीको अनौपचारिक बैठक बस्ने तयारी छ । एकीकृत नेकपा माओवादीले माघमा महाधिवेसन गर्ने भने पनि मिति तय भइसकेको छैन ।