काठमाडौं असार २८ गते । एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । साउन १ गतेदेखि बस्ने विस्तारित बैठकको तयारी र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको प्रतिवेदनमाथि छलफल गर्न आजदेखि केन्द्रीय समितिको बैठक बोलाइएको हो । हिजोका लागि बोलाइएको पोलिटब्यूरो बैठक नबसी अध्यक्ष प्रचण्डको प्रतिवेदन अध्ययन गरेका पोलिटब्युरो सदस्यहरुले प्रतिवेदनमाथिको धारणा राख्ने छन् । आज अध्यक्ष प्रचण्डले प्रतिवेदन पेश गरेपछि विस्तारित बैठकको तयारी र प्रतिवेदनका विषयमा छलफल हुनेछ । पार्टी विभाजनपछि माओवादी सांगठनिक र राजनीतिक रुपमा भावी रणनीति बनाउन छलफलमा जुटेको छ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बोलाइएको बैठकमा संविधानसभा विघटन र पार्टी विभाजनका विषयमा पनि छलफल हुने पोलिटब्यूरो सदस्य अग्नि सापकोटाले सीआईएनलाई जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डको दस्तावेजमा देशको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको सांगठनिक अवस्थाको आगामी रणनीतिका रूपमा उल्लेख गरिएको छ । उपाध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वमा रहेको सरकारले गरेको कामको आलोचना गरिएपनि प्रतिवेदनमा सरकार तत्काल छोड्न नहुने निस्कर्ष निकालिएको छ । केन्द्रीय समितिले सुझावसहित अध्यक्ष प्रचण्डको दस्तावेज पारित गरेपछि आउने विस्तारित बैठकमा पेश गरिनेछ ।