धादिङ असार २७ गते । टेकमान शाक्य, रेडियो विहानी धादिङ अन्तरजातीय विवाहका विषयलाई लिएर आन्दोलित भएका धादिङका दलितहरुले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने भएका छन् । गैर दलितहरुको आक्रमणबाट विस्थापित भएका पिंडाका दलितहरुले दोषी माथि कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाउन लागेका हुन् । पीडितहरुले मूलाखर्क घटना संयुक्त संघर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेका छन् । भोलि पीडितहरुले विरोध ¥यालीसहित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेका छन् । पीडितहरुले २९ गते पृथ्वी राजमार्ग र धादिङबेसीमा बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा चक्का जाम गर्ने र ३० गते पृथ्वीराजमार्ग सहित धादिङ बन्द गर्नेलगायतका आन्दोलनका कार्यक्रम रहेका छन् । आन्दोलनमा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, नेपाल दलित संघ, नेपाल उत्पीडित जातिय मुक्ति समाज, दलित सेवा संघ, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ धादिङ र उत्पीडित दलित तथा बालबालिकाको लागि सहायता केन्द्रलेसमेत ऐकेवद्धता जनाएका छन् । यसअघि नै पीडित पक्षले प्रहरी प्रशासनमा किटानी जाहेरी दिईसकेका छन् । स्थानीय सम्झना सुवेदी र नवराज सुनुवारबीच भएको अन्तरजातीय विवाहका विषयलाई लिएर यहि असार १९ गते स्थानीय गैर दलितहरुले आक्रमण गरेपछि पिंडाका १० घर दलित समूदाय आतङ्कीत बनेका थिए ।