Responsive Ad Slot

latest

कसैको पार्सल साथैमा लादैंहुनुहुन्छ भने होसियार ।

Sunday, July 29

/ by Unknown

रामप्रसाद ढुंगेल, कतार, दोहा तपाई  विदेश जाने सिलसिलामा कसैको पार्सल साथैमा लादैंहुनुहुन्छ भने होसियार । पहिलो पटक विदेश जाने होस् या बिदा मनाएर फर्कनेलाई काठमाडौंमा अज्ञात मानिसले पैसाको प्रलोभन देखाइ अवैध सामग्री थमाएर कारोबार गरिरहेको पाइएको छ । ‘यो पार्सल लगिदिनुहोस् र यस नम्बरमा मिस्कलमात्र गर्नुहोस्, तपाईंलाई एयरपोर्टमै गाडी लिएर लिन आउछ, तपाईं बस्ने ठाउमै छाडिदिन्छ अनि पैसा पनि दिन्छ’ भनेपछि स्वाभाविक लोभ सबैलाई जाग्छ । यस्तै लोभमा परी भाङ्, धतुरो, लगायतका प्रतिबन्धित सामगी ओसारपसार गरेको आरोपमा केही निर्दोष नेपालीहरु जेल परिरहेका छन् ।कतारमा प्रतिबन्धित भाङ्को बिउ ल्याएकोमा बाग्लुङ जिल्ला ग्वालीचौर गाविस ६ का लोकबहादुर जीसीले दुई लाख रियाल (करिब ४८ लाख नेपाली रुपैया) जरिवानासहित तीन वर्षको जेल सजाय पाएका छन् । आफ्नो भतिजो पर्नेको पार्सल ल्याउने क्रममा उक्त पार्सलभित्र भाङ्को बिउ भेटिएपछि उनी फन्दामा परेका हुन् । पार्सलमा के भन्ने बिचारै नगर्दा आफू फसेको बताउदै उनी कतारमा तारिख धाइरहेका छन् । यो हालसम्मकै सबैभन्दा ठूलो जरिवाना भएको एनआरएन कतारले जनाएको छ ।

त्यसतै आफूले अर्कैका लागि बोकिदिएको पार्सलमा लागूऔषधका सामग्री फेला परेकोमा पिपिया – ८, सर्लाहीका इन्दर मण्डल गत जुलाई ८ तारिखका दिन कतार प्रहरीको फन्दामा परेका छन् । उनी वैदेशिक रोजगारीको सिलसिलामा पहिलोपटक कतार जाने क्रममा लागूऔषधको कारोबारमा कतारमा पक्राउ परेका हुन् । नेपाली दूलाबास कतारले उनीहरुको उद्धारका लागि पहल गर्ने बताउदै पार्सल राम्ररी बुझेरमात्र बोक्न सर्बसाधारणलाई सूचित गरेको छ ।
सार्वजनिक बिदाका दिन शुक्रबार कतारको राजधानी दोहाका साथै सनैया, अलखोर लगायतका क्षेत्रमा जाड, रक्सी, खैनीको खुल्लमखुल्ला अवैध व्यापार बढ्दै गएको छ । यस्तै अवैध व्यापार सञ्चालन गर्ने गिरोहले खैनी, गुट्कालगायतका सामग्रीहरु सर्बसाधारण नेपालीलाई पार्सलका रुपमा भिडाएर पठाउने गरेको युवा व्यवसायी सागर नेपालले बताएका छन् । अवैध व्यापार रोक्न दूतावासको पहलमा सागर नेपालको संयोजकत्वमा एक अनुगमन तथा नियन्त्रण टोली गठन समेत गरिएको छ ।
सामाजिक कार्यकर्ता र जिल्ला स्तरीय संस्थाका प्रतिनिधिसहितको टोलीले अवैध व्यापार रोक्न प्रयास गरे पनि नक्कली सीडी, मधु, गुट्काको व्यापार, जाडरक्सीको कारोबार र ढाइस खेले÷खेलाइएको दृश्य सामान्य बन्दै गएको छ । यस्तो गैरकानुनी कार्य तत्काल रोक्न कतार प्रशासनले सूचित गरेको छ भने नेपाली दूताबास कतारले एक विज्ञप्तिमार्फत अवैध काममा सरिक नहुन कतारमा कार्यरत सबैलाई आग्रह गरेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI