काठमाडौं साउन १ गते । एक वर्षदेखि बढेको तलब र पोसाकभत्ता उपलब्ध गराउन
सरकारले सहमति जनाएपछि आजदेखि मुलुकभरका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका
आङ्गीक क्याम्पस र अनुसन्धान केन्द्रहरू खुल्ने भएका छन् । त्रिभुवन
विश्वविद्यालय प्राध्यापक सङ्घका सचिव नन्दकिशोर सिंहले सरकारको
प्रतिबद्धतापछि आन्दोलन फिर्ता लिइएकोे जानकारी दिनुभयो । अर्थमन्त्री
वर्षमान पुन, शिक्षामन्त्री दीनानाथ शर्मा, अर्थसचिव कृष्णहरि बाँस्कोटा,
शिक्षासचिव किशोर थापा सहितका त्रिवि पदाधिकारीसँग भएको वार्तामा सरकारले
तलबभत्ता उपलब्ध गराउन सहमत भएपछि आन्दोलन फिर्ता लिइएको सिंहले बताउनुभयो ।
सरकारले तलब भत्ताबापत लाग्ने रु ८० करोडमध्ये शिक्षा मन्त्रालयबाट रु
४० करोड र अन्य रकम शोधनान्तर गरी उपलब्ध गराउन लागेको हो । सङ्घले
तलबभत्ता पाउनुपर्ने माग राख्दै गत बिहीबार र शुक्रबार मुलुकभरका ६० वटा
आङ्गीक क्याम्पस र ४ अनुसन्धान केन्द्र बन्द गराउँदा पठनपाठन प्रभावित भएको
थियो ।