काठमान्डौ असार २१ गते। आर्थिक वर्ष
२०६९÷७० को लागि पूर्ण आकारको बजेट ल्याउनुपर्नेभन्दै दलका नेताहरुसँगको
भेटघाटलाई निरन्तरता दिइरहेको नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुको
टोलीले आज नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालासँग छलफल गर्दैछ । विहान
९ बजेपछि सभापति कोइराला निवास महाराजगन्जमा हुने भेटमा राजनीतिक सहमति
गरेरनै आगामी आर्थिक वर्षको बजेट ल्याउन आग्रह गर्ने कमर्सले जनाएको छ ।
चेम्बर अफ कमर्सको पदाधिकारीको टोलीले
हिजो नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यसँग छलफल गरेको थियो । सरकारले आगामी
आर्थिक वर्षको लागि पूर्ण आकारको बजेट ल्याउने तयारी गरेको भए पनि
प्रतिपक्षी दलहरुले राजनीतिक सहमति विना बजेट ल्याउन नदिने अडान कायमै
राखेपछि सहमति गरेर बजेट समयमै ल्याउन नीजि क्षेत्रको प्रतिनिधत्व गर्ने
सङ्घसङ्गठनहरुले छलफललाई तीब्रता दिएका हुन् ।