काठमाण्डू २०६९ असार ३० गते एकीकृत माओवादीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा असहमति जनाउँदै केही पोलिटव्युरो सदस्यहरुले आज फरक प्रस्ताव राख्ने भएका छन् । माओवादी स्रोतका अनुसार पोलिटव्युरो सदस्य स्वनाम साथीले असन्तुष्ट समूहको नेतृत्वगर्दै अध्यक्ष प्रचण्डको राजनीतिक दस्तावेजमा असहमतिसहित छुट्टै प्रस्ताव पेस गर्ने तयारी गर्नु भएको छ । सोनाम साथीले राष्ट्रिय स्वाधीनता र जनजीविकाको विषय उठान गर्नुपर्ने मागसहितको पुरक दस्तावेज पेस गर्नुहुनेछ । अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा पेस गरेको राजनीतिक प्रस्तावमा पार्टी नेतृत्वमा शक्ति केन्द्रिकृत गर्ने र पार्टी अन्तरसङ्घर्षमा कडाई गर्ने उल्लेख गरेपछि केही नेताहरुले असहमति जनाएका हुन् । आजको केन्द्रीय समितिको बैठकमा अध्यक्षको प्रस्तावमा सामूहिक रुपमा छलफल हुनेछ । हिजो स्थगित भएको केन्द्रीय समितिको बैठक आज विहान ११ बजेपछि पार्टी कार्यालय कोटेश्वरमा सुरु हुनेछ । हिजो केन्द्रीय सदस्यहरुले पार्टी कार्यालयमै रहेर अध्यक्षको प्रतिवेदन अध्ययन गरेका थिए । यसअघि बैठकमा पेश हुने प्रतिवदेन घर लगेर अध्ययन गर्न पाउने व्यवस्था मिलाइएको भए पनि प्रतिवेदन संचारमाध्यममा जस्ताको तस्तै आउनेभन्दै घर लग्न दिइएको छैन ।