बिपिन धिताल, मकवानपुर साउन ३ गते । मकवानपुरमा क्षयरोगीको सङ्ख्या बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार अहिले मकवानपुरमा मात्र ७ सय ५० जना क्षयरोगका बिरामी छन् । यसमध्ये ४ सय ४० पुरुष र ३ सय १० जना महिला बिरामी छन् । अघिल्लो आर्थिक वर्ष २०६६÷०६७ को तुलनामा आव २०६८÷०६९ मा जिल्लामा ९५ जना क्षयरोगका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । बिरामीलाई जिल्ला स्वास्थ्य कार्यालयअन्र्तगत रहेका स्वास्थ्य चौकी, उपचौकी, इलाका प्राथमिक उपचार केन्द्र एवं जिल्ला स्वास्थ्य क्लिनिकका स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा दैनिक औषधि खुवाउँदै आएको कार्यालयले जनाएको छ । साथै मकवानपुरको पूर्वीय क्षेत्र फापरबारी, राईगाउँ, छतिवन तथा पदमपोखरी, बसामाडी, चुरिमाई, भैँसे, मनहरीका बासिन्दा क्षयरोगबाट बढी प्रभावित रहेको छ । क्षयरोगीहरुमा तत्कालै अस्पताल र स्वास्थ्यचौकी गई उपचार गराउनेभन्दा रोग लुकाउने प्रवृत्ति बढेका कारण जिल्लामा क्षयरोगलाई नियन्त्रणमा ल्याउन कठिनाइ उत्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका कुष्ठ तथा क्षयरोग अधिकृत कपिलदेव झाले जानकारी दिनुभयो ।