असार २४ ( राजनीतिक सहमति जुटाएर पञ्चेश्वर बहुउद्देश्यिय आयोजना तत्कालै अघि बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । आयोजनाले काठमाडौंमा गरेको कार्यक्रममा बक्ताहरुले राजनीतिक सहमति र प्रतिवद्धता नहुँदा मुलुकको हितमा भएपनि आयोजना सञ्चालन गर्न नसकिएको धारणा राखे ।कार्यक्रममा उर्जा सचिव हरिराम कोइरालाले राजनीतिक दललाई बुझाउन नसक्दा पञ्चेश्वर आयोजना अघि बढ्न नसकेको बताउनुभयो । उहाँले दलहरुलाई बास्तविकता बुझाएर सहमत गराउनुपर्नेमा जोड दिनुभयो । आयोजना प्रमुख डिबी सिंहले यसअघिका थुप्रै योजनाहरुभन्दा कैयौ गुणाबढि राष्ट्रिय हितमा भएपनि राजनीतिक दलले चासो नदिंदा काम अघि बढ्न नसकेको दावी गर्नुभयो । केही गैरसरकारी संस्था र तिनका कार्यकर्ता र विदेशी तत्वको चलखेलका कारण आयोजना अवरुद्ध भएको उहाको भनाई छ ।कार्यक्रममा विभिन्न राजनीतिक दलका दर्जनबढि नेतालाई बोलाइएपनि कार्यक्रममा कसैको उपस्थिती थिएन । ६ हजार ७ सय २० मेगावाट विद्यूत क्षमताको आयोजना शुरु भएको १६ बर्ष पुगेपनि काम भने अघि बढ्न सकेको छैन । जलाशययुक्त यो आयोजना वैतडी र डढेलधुराको सिमानामा निर्माण गर्ने लक्ष्य छ ।