केदार मगर, , खोटाङ असार २९ गते ।खानेपानीको मुहान क्षेत्रमा रोपाई गर्न थालिएपछि खोटाङको लिच्कीराम्चेमा खानेपानीको अभाव भएको छ । छिमेकी गाविस ईन्द्रेणीपोखरीको छरछरे मुहान भएको खानेपानीलाई नजिकैको खेतमा रोपाई गर्नमा प्रयोग गर्न थालिएपछि लिच्कीराम्चेका आठ वटा वडामा पिउने पानीको अभाव भएको स्थानीयबासिन्दा हरियाली युवा क्लवका अध्यक्ष राई रमेश गाउँलेले जानकारी दिनुभयो । धारामा पानी आउन छाडेपछि अहिले लिच्कीराम्चे–२, ३, ४, ५, ६, ७, ८ र ९ वडाका सर्वसाधारण तीन घण्टा लगाएर कुवाको पानी ल्याउन बाध्य भएको स्थानीय समावेशी सचेतना केन्द्रका अध्याक्ष वार्ता नेपालीले बताउनुभयो । एक गाग्री पानी भर्ने पालो पर्खदा तीन घण्टा भन्दा बढी समय लाग्ने गरेको नेपालीको भनाई छ । १५–२० वर्षअघिदेखि मर्मत नगरिनु र खानेपानीलाई रोपाईमा प्रयोग गरिनुले गाविसमा खानेपानीको हाहाकार भएको अध्यक्ष राईको भनाइ छ । अहिले लिच्कीराम्चे– ४, ६ र ९ का सर्वसाधारण तेर्सो पँधेरो, लिच्कीराम्चे–७ का कालापानी पँधेरो र लिच्कीराम्चे –९ काहरु व्यापारी खोलाको पँधेरोमा पानी लिन जान बाध्य बनेका छन् ।