काठमाडौं साउन १५ गते !!!!संविधानसभाको विघटनपछि उत्पन्न राजनीतिक सङ्कट निकासका लागि पार्टीले खेल्नुपर्ने भूमिका र भावी कार्ययोजना तय गर्न नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरूको राष्ट्रिय भेला आजदेखि सिन्धुपाल्चोकमा सुरु हुँदैछ । सिन्धुपाल्चोकको बाह्रविसेमा दुई दिनसम्म चल्ने दोस्रो राष्ट्रिय भेलामा पार्टी पदाधिकारी एवं केन्द्रीय सदस्य तथा ७५ जिल्ला सभापतिहरूको सहभागिता हुनेछ । भेलामा सहभागी हुन आएका जिल्ला सभापतिहरुको मोटरसाईकल ¥याली काठमाडौंको तीनकुनेबाट सुरु भइसकेको छ । करिब एक हजार मोटरसाइकलमा जिल्ला सभापतिहरु सिन्धुपाल्चोक प्रस्थान गरेको नुवाकोट काङ्ग्रेस सभापति जगदिश्वरनरसिंह केसीले सीआईएलाई जानकारी दिनुभयो । मोटरसाईकल ¥याली भेलास्थल बाह्रविसे पुग्नेवित्तिकै जिल्ला सभापतिहरुको भेला उद्घाटन कार्यक्रम सुरु हुनेछ । उद्घाटन कार्यक्रमलाई केन्द्रीय पदाधिकारीले सम्बोधन गर्ने र आजै भेलाको बन्दसत्र सुरु गर्ने तयारी भएको छ । राजनीतिक अन्यौल चिर्न काङ्ग्रेसको भूमिका र पार्टीको सुदृढिकरणको बारेमा भेलामा छलफल हुने केसीले बताउनुभयो । गत वर्ष भएको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको १३ बुँदे घोषणापत्र कार्यान्वयन, सङ्घीयता, चुनाव र राज्य पुनःसंरचनाका बारेमा पनि छलफल हुने बताइएको छ ।