विमल गौतम, साउन ६ गते । , दाङ सञ्चार उद्यमी रेडियो तुलसीपुर दाङका तत्कालीन अध्यक्ष देवीप्रसाद धिताल हेमराजको हत्या भएको आज दुई वर्ष पूरा भएको छ । सञ्चार उद्यमी धितालको हत्या भएको दोस्रो वार्षिकीको अवसरमा आज दाङमा विभिन्न कार्यक्रम हुँदैछ । धितालको स्मरणमा बिहान साढे ७ बजे धितालको शालिकमा माल्यार्पण गरिएको छ । राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिको प्राङ्गणमा राखिएको अर्धकदको शालिकमा माल्यार्पण गरिएको स्वर्गीय देवीप्रसाद धिताल हेमराज प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद रजौरेले जानकारी दिनुभयो । यस्तै रेडियो तुलसीपुर दाङका तत्कालिन अध्यक्ष धितालको सम्झनामा रेडियोले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । यस्तै मध्यान्ह १२ बजे उद्योग वाणिज्य सङघको सभाहलमा विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान कार्यक्रम पनि राखिएको छ । सञ्चार क्षेत्रमा क्रियाशील एकजना, यातायात क्षेत्र, शिक्षा क्षेत्रमा र मानवअधिकारको क्षेत्रमा उत्कृष्ठ काम गर्नेलाई सम्मान गर्न लागिएको हो । २०६७ साल साउन ६ गते कामको सिलसिलामा उरहरी गाविसमा पुग्नुभएका रेडियो तुलसिपुरका तत्कालीन अध्यक्ष देवीप्रसाद धितालको एक समूहले गोली हानि हत्या गरेको थियो । धितालको हत्यामा संलग्नहरुको अझै पनि पहिचान हुन सकेको छैन ।