काठमाडौं साउन ४ गते । एकीकृत नेकपा माओवादीको सातौं विस्तारिरत बैठकको तेस्रो दिन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनको बारेमा बिभिन्न राज्य समितिहरुले लिखित धारणा पेस गर्ने भएका छन् । पूर्व लडाकु र वाइसीएलका प्रतिनिधिले बिभिन्न माग राख्दै हिजोको विस्तारित बैठक अवरुद्व गरेपछि राज्य समितिको तर्फबाट आज लिखित धारणा पेस हुन लागेको हो । अध्यक्षको राजनीतिक प्रतिवदेन बारे छलफलको लागि १४ ओटै राज्य समितिमा आवद्व नेता तथा कार्यकर्ताहरुलाई समूहगत रुपमा विभाजन गरिएको थियो । समूहगत धारणा राख्न विस्तारित बैठक विहान ११ बजेको लागि बोलाइएको छ । विभिन्न राज्यसमितिहरूमा कर्णालीबाट गजेन्द्र महत, मगरातबाट अविनाश, गैरभौगोलिक राज्यबाट शालिकराम जमरकट्टेल, विदेश प्रतिनिधिको तर्फबाट चित्रबहादुर श्रेष्ठ, अवधबाट रामलोटन तिवारी, तमुवानबाट अमर तमु, सेती–महाकालीबाट तिलक शर्मा, नेवाःबाट भास्कर प्रधानाङ्ग, प्रवास प्रतिनिधिबाट ईश्वरी भट्टराईलाई टोली संयोजक चयन गरिएको छ ।