काठमाडौं साउन १ गते ।पार्टीको भावि कार्यदिशा तय गर्ने बारेमा छलफल गर्न
एकीकृत नेकपा माओवादीको सातौं विस्तारित बैठक आज सुरु हुँदैछ । चार दिनसम्म
चलेको केन्द्रीय समितिको बैठकबाट प्राप्त सुझाव समेटेर अध्यक्ष पुष्पकमल
दाहाल प्रचण्डले विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्नुहुनेछ ।
विस्तारित बैठकको दिउँसो साढे एक बजेपछि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ
। पार्टी विभाजनपछि आयोजना गरिएको विस्तारित बैठकमा पार्टीको भावी
कार्यदिशा र विगतको समीक्षा तथा आगामी महाधिवेशनको मिति तोक्ने बारेमा छलफल
हुने स्थायी समिति सदस्य कृष्णबहादुर महराले सीआईएनसँग बताउनुभयो । नेता
महराका अनुसार आज अध्यक्षको राजनीतिक प्रतिवेदन बैठकमा पेस हुनेछ भने
भालिदेखि छलफल सुरु हुनेछ । भेलामा देशभरका करिब पाँचहजार ५ सय
कार्यकर्ताको उपस्थिति रहने छ । एकीकृत माओवादीले पार्टी स्थायी समिति
सदस्य कृष्णबहादुर महराको संयोजकत्वमा नेवाः राज्य समिति र ताम्सालिङ राज्य
समितिका पोलिटव्यूरो सदस्य, केन्द्रीय सदस्य र राज्य समितिअन्तर्गत रहेका
सल्लाहकार सम्मिलित व्यवस्थापन समिति गठन गरेको थियो । भृकुटीमण्डपको
प्रदर्शनी हलमा विस्तारित बैठक सञ्चालन हुनेछ । बैठकको सुरक्षाका लागि एक
हजारभन्दा बढी स्वयम्सेवक परिचालन गरिने छ । नेकपा–माओवादीमा लागेका
कार्यकर्तासमेत विस्तारित बैठकमा सहभागी हुने एमाओवादीका नेताहरूले दावी
गरेका छन् ।