काठमाडौं असार २४ मातृका यादव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले ठूला दलका ठूला नेता शान्ति, संविधान र अग्रगमनविरोधी भएको भन्दै तिनका निवास घेराऊ अभियान थालेको छ । यसक्रममा आज उनीहरुले एमाले अध्यक्ष झलनाथ खनालको घर घेराउ गरे । संविधानसभा भंग गरेर ठूला दलले जनबिरोधी काम गरेको भन्दै उनीहरुले राज्यकोषबाट लिएको सबै सुविधा फिर्ता गर्नुपर्ने माग गरे । मुलुकमा भ्रष्टाचार, महंगी, कालोबजारी बढेर आकाश छुँदा पनि नियन्त्रण नगरेको भन्दै उनीहरुले ध्यानाकर्षण गराए । संविधानसभा व्यूताए माओवादी संघर्षमा जाने भन्दै उनीहरुले आफ्नो यस भण्डाफोर अभियानमा साथ दिन सबैसँग आग्रह गरेका थिए । ठूलादल र नेताहरु सत्ता लिप्सामा लागेकाले नेताहरुको खवरदारी गर्नु परेको उनीहरुको भनाइ छ । निवास घेराउ गर्दा अध्यक्ष खनाल निवासमा नभए पनि सुरक्षा व्यवस्था कडा पारिएको थियो । भोलि कांग्रेस सभापति र एकीकृत माओवादी अध्यक्षको निवास घेर्ने माओवादीले जनाएको छ ।