काठमाडौं असार २९ गते । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनको बारेमा आजदेखि केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राख्ने भएका छन् । अध्यक्ष प्रचण्डको प्रतिवेदनको बारेमा छलफल गर्न केन्द्रीय समितिको बैठक विहान ११ बजेपछि पार्टी कार्यालय कोटेश्वरमा सुरु हुनेछ । हिजोदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले ३८ पृष्ठको राजनीतिक प्रस्ताव पेस गर्नु भएको थियो । पार्टी नेतृत्वमा शक्ति केन्द्रिकृत गर्ने र पार्टी अन्तरसङ्घर्षमा कडाई गर्ने प्रचण्डको राजनीतिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा पार्टीमा अत्याधिक जनवादको प्रयोग गर्न दिइएकै कारण पार्टी विभाजनको अवस्थामा पुगेकाले त्यसमा अब अङ्कुश लगाउनुपर्ने आशय ब्यक्त गरिएको छ । प्रतिवेदनमा समग्र अन्तरसङ्घर्षको समीक्षा, राजनीतिक अन्तरसङ्घर्षको समीक्षा, अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थितिको व्याख्या गरिएको प्रवक्ता दीनानाथ शर्माले बताउनुभयो । त्यस्तै प्रतिवेदनमा १२ बुँदे समझदारीदेखि हालसम्मको राजनीतिक परिस्थिति र भावी कार्यदिशाबारे पनि उल्लेख गरिएको छ ।