काठमाडौं, असार १७ – राजनीतिक सहमति जुटाएर बजेट ल्याउन आग्रह गर्दै आएका
उद्योगी व्यवसायीले आज पनि राजनीतिक भेटवार्ता गर्दैछन् । एकीकृत नेकपा
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष झलनाथ
खनालसँग नेपाल उद्योग बाणिज्य महासंघको टोलीले भेटवार्ता गर्ने कार्यक्रम
तय भएको छ ।
खनालसंग बिहान भेटवार्ता हुने र बजेट ल्याउन पहल गर्न तथा वातावरण बनाउन
आग्रह गरिने महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले बताउनुभयो । तर एमाले
अध्यक्ष खनालले भने प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बजेट ल्याउन नहुने
बताउँदै आउनु भएको छ ।
समय मिलाएर दिउँसोसम्ममा आजै माओवादी अध्यक्ष प्रचण्डलाई पनि भेट्ने
कार्यक्रम रहेको पाण्डेले बताउनुभयो । यसअघि महासंघको टोलीले
प्रधानमन्त्री, अर्थमन्त्री लगायतसँग भेटवार्ता गरेर सहमति कायम गरी समयमै
बजेट ल्याउन आग्रह गरेको थियो ।