काठमाडौँ, जेठ २८तनहुँखबर डट कम -
पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको स्वास्थ्य उपचारका लागि भारतबाट डा. रवि कास्कीवालको नेतृत्वमा छ सदस्यीय चिकित्सक टोली आज बिहान काठमाडौँ आउँदै छ। मुटुरोग विशेषज्ञ डा कास्कीवालको नेतृत्वमा नसा रोग विशेषज्ञसमेत आउने भएको जनशक्ति पार्टीका सहप्रवक्ता किरण गिरीले जानकारी दिए।शनिबार बिहान पौने दस बजे नक्सालस्थित पार्टी कार्यालयमा एक कार्यक्रमलाई सम्बोधन गरिरहँदा एक्कासि ढलेका थापालाई तत्कालै त्रिपुरेश्वरस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार अचानक मुटु चल्न बन्द हुने समस्या (कार्डियाक एरेस्ट) देखिएका थापाको अवस्था गम्भीर छ।
८४ वर्षे थापाको उपचार सघन कक्ष (आइसियु) मा कृत्रिम श्वासप्रश्वास मेसिन (भेन्टिलेटर) र पेसमेकरको सहायताले उपचार भइरहेको छ। उनको होस खुलेको छैन। महŒवपूर्ण अंगहरू मुटु र फोक्सो उपकरणको सहायताले चलाइएको छ।
सोफामा बसेर बोलिरहेका थापा अचानक ढलेपछि १० मिनेटभित्रै अस्पताल पुर्याइएको थियो। पार्टीका सहअध्यक्ष प्रकाशचन्द लोहनीका अनुसार समसामयिक राजनीतिबारे भनाइ राखिरहँदा उनको ओठ एक्कासि काँप्न थालेको थियो। 'ओठ काँप्न थाल्यो र सोफामा ढलिहाल्नुभयो, हामीले उठाएर केही मिनेटमै अस्पताल पुर्यायौं,' लोहनीले भने, 'शनिबार भएकाले बाटो खाली थियो र समयमै उपचार सुरु हुन पायो।'
लामो समयदेखि मुटुको समस्या भए पनि थापा सक्रिय दैनिकीमै थिए। शुक्रबारमात्र उनले २७ दलको सभालाई खुलामन्चमा सम्बोधन गरेका थिए।
अस्पताल पुर्याउँदा थापाको शरीर केही तातो भए पनि श्वासप्रश्वास, नाडी र रक्तचाप थिएन। अस्पताल पुर्याउँदा जीवनदायी कुनै संकेत नहुँदा पनि अहिलेको अवस्थासम्म आउनुलाई पनि चिकित्सकले 'मेडिकल मिराकल' भनेका छन्। उपचारमा संलग्न डा. भारत रावतले थापालाई गम्भीर अवस्थामा भए पनि समयमै अस्पताल ल्याइएको बताए। उनका अनुसार यस्तो अवस्थामा प्रत्येक १ मिनेटमा बाँच्ने सम्भावना १० प्रतिशत कम हुँदै जान्छ।
चिकित्सकका अनुसार अहिले पनि मुटुको चाल फर्किएको छैन। अचेत अवस्थामा समय/समयमा लागेको खोकीको सुस्त प्रतिक्रियाले अहिले ब्रेनले काम गरिरहेको संकेत गरिरहेको छ। थोरै मात्रामा पिसाब भइरहेको चिकित्सकहरूले बताएका छन्। त्यही संकेतका आधारमा चिकित्सकले सुधारको आशा मारिसकेका छैनन्। 'उहाँको अवस्था निकै गम्भीर छ, अस्पताल ल्याउँदाको तुलनामा जीवनदायी महŒवपूर्ण संकेतहरूमा नगन्य सुधार देखिएको छ,' उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ भारत रावतले भने, 'तर, २४ घण्टासम्म सुधार हुनसक्छ भन्न सकिन्न।'
यद्यपि चिकित्सकहरू अबको २४ घण्टासम्म अहिलेकै औषधिपचार जारी राखिने बताएका छन्। कार्डियाक एरेस्ट हृदयघातभन्दा खतरनाक समस्या हो। यो समस्या हँुदा मुटुको सहज चाल रोकिएर थर्किने हुन्छ।
थापाको उपचारमा डा. रावत, डा. जेपी जैसवाल, डा. श्यामबहादुर पाण्डेलगायतको टोली संलग्न छ।
शनिबार रातिसम्म नाडीको गति भेन्टिलेटर र पेसमेकर जोडिएको अवस्थामा ८० बिट प्रतिमिनेट छ। रक्तचाप १००/६०, श्वास-प्रश्वासको गति १५ प्रतिमिनेट र अक्सिजनको मात्रा ९९ प्रतिशत छ। त्यो राम्रो अवस्था हैन। थापा करिब तीन दशकभन्दा लामो समययता मुटुको रोगबाट पीडित छन्।
आज को नागरिक न्युज मा लेखेको छ