कपिल ज्ञवाली
बुटवल, असार १४
विदेश पठाइदिने बहानामा सर्वसाधारणहरुसँग १ करोड भन्दा बढी रकम ठगी गरी बुटवलस्थित जिएमआई ओभरसिजका तीनजना सञ्चालक फरार भएका छन् । बुटवल कालिकानगरस्थित उक्त ओभरसिजका निर्देशक बन्दीपुर–१ तनहुका रमेश केसीसहित तीन जना सञ्चालकले सर्वसाधारणलाई साईप्रस पठाईदिने भन्दै उक्त रकम ठगी गरेका हुन् । प्रहरीले अनुसन्धानका लागि भन्दै ओभरसिजकी कर्मचारी रुपा भुसाललाई पक्राउ गरेको छ ।
सञ्चालहरुले ५०–६० जना सर्वसाधारणसँग प्रति व्यक्ति २ लाख रुपैयाँसम्म असुल गरेको बताइएको छ । पीडितहरुले आफूहरुसँग ठगी गरिएको रकम फिर्ता गराउन र ठगी गर्ने सञ्चालकहरुलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै आज वडा प्रहरी कार्यालय रामनगर बुटवल घेराउ समेत गरेका छन् । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुभाश गैरेले करिव १ करोडको हाराहारमीमा रकम ठगी गरेको जानकारी आएपछि त्यसको अनुसन्धान भैरहेको बताउनुभयो । उहाँले ओभरसिजका तीनैजना सञ्चालक फरार रहेकाले खोजीकार्य भैरहेको बताउनुभयो ।