काठमाण्डौं ,जेष्ठ ३२
राष्ट्रपति डा रामबरण यादब र पूर्व
प्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता माधव नेपालबीच पछिल्लो राजनीतिक
घटनाक्रमको बारेमा आज छलफल भएको छ । राष्ट्रपतिभवन शीतल निवासमा आज विहान
भएको भेटमा पूर्वप्रधानमन्त्री नेपालले स्वदेशी तथा विदेशी दबाबका भरमा
राष्ट्रिय सहमतिबिना संविधान संरक्षकका नाताले राष्ट्रपतिले कुनै निर्णय
लिनु नहुने सुझाव आफूले राखेको जानकारी गराउनुभयो । प्रधानमन्त्री डा
बाबुराम भट्टराईले सत्तालिप्सामा नलागी आफूले दिएको बचन पूरा गर्नुपर्नेमा
जोड दिदै नेता नेपालले राष्ट्रिय सहमतिका लागि काङ्ग्रेस र एमालेले चाँडै
एकीकृत माओवादी सहितको प्रमुख दलको बैठक बोलाउने तयारी भएको जानकारी
दिनुभयो । संविधानसभाको विघटन, सरकारले अध्यादेशमार्फत ल्याउने भनिएको बजेट
तथा दलहरुबीचको छलफलको बारेमा नेता नेपाल र राष्ट्रपतिबीच कुराकानी भएको
थियो । अहिलेको सरकारले अध्यादेशबाट बजेट ल्याउन लागेको र प्रमाणिकरण गर्न
दबाब आएकोले दलहरुसँगको छलफलको आधारमा मात्र निर्णय लिन आग्रह गरेको
नेपालको भनाइ थियो । जवाफमा राष्ट्रपति यादबले दलहरु मिलेर जानुको विकल्प
नरहेको र त्यसै अनुसार आफूले आग्रह गर्ने बताउनु भएको थियो ।