गत जेठ ३२ गतेदेखि बन्द रहेको गोरखकाली रबर उद्योग अझै सञ्चालनमा आउन सकेको छैन । व्यबस्थापन पक्षले सम्झौता बिपरित कर्मचारी नियुक्त गरेको भन्दै स्थानिय बासिन्दाले रबर उद्योगको मुल गेटमै ताला लगाईदिएपछि, उद्योग संचालनमा आउन नसकेको हो । व्यबस्थापनवाट गोप्य रुपमा नियुक्त भएका कर्मचारीको बर्खास्तको माग गर्दै उद्योग बचाउ स्थानिय संघर्ष समितीले ताला लगाएको छ । कर्मचारी नियुक्त गर्दा पहिलो प्राथमिकता स्थानिय बासिन्दालाई दिनुपर्नेमा, व्यबस्थापनले कुनै जानकारी नगराई काभ्रे र भैरहवा डिपोमा ६ जना कर्मचारी नियुक्त गरेको संघर्ष समितीका अध्यक्ष जितबहादुर भट्टले बताउनुभयो । व्यापक राजनैतिकीकरणका कारणले उद्योग सञ्चालनमा समस्या आएपछि उद्योगलाई बचाउन स्थानियको सक्रियतामा संघर्ष समिती गठन गरिएको अध्यक्ष भट्टको भनाई छ । स्थानिय बासिन्दाले गतवर्ष पनि गोप्य रुपमा कर्मचारी नियुक्त गरेको भन्दै ६ दिन उद्योग बन्द गराएका थिए । उद्योगका महाप्रबन्धक दिनेश कुमार बर्तौलाले उद्योग सञ्चालक समितीको बैठक राखेर स्थानियको माग सम्बोधन गर्ने विषयमा पहल भैरहेको बताउनुभएको छ । उद्योग एक दिन बन्द हुँदा ५ लाख रुपैंयाँ बराबरको घाटा हुने उद्योग प्रशासनले जनाएको छ । सञ्चालक समितीको अध्यक्षमा लक्ष्मण भट्टराई भएपनि उद्योग मन्त्रालयले सह–सचिव मधुकुमार मरासिनीलाई अध्यक्ष तोकेर पठाएपछि सञ्चालक समितीको बैठक समेत बस्न सकेको छैन । बजारमा वार्षिक एक लाख ठुलो र साठि हजार सानो टायरको माग भए पनि राजनैतिक विवाद, कर्मचारी आन्दोलन, नेपाल बन्द तथा तालाबन्दीका कारणले माग अनुसार उत्पादन गर्न नसकिएको प्रशासनले जनाएको छ । उद्योगले अहिले वार्षिक २५ हजार ठुलो र १५ हजार सानो टायर मात्रै उत्पादन गर्न सकिएको महाप्रबन्धक दिनेश कुमार बर्तौलाले बताउनुभयो ।β