विनोद पाण्डे, काठमाडौं, असार २-
एयर इन्डियाको फ्लाइटबाट बिहान ९:१५ मा काठमाडौं आइपुगेका भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनीले दक्षिण एशियाकै क्रिकेट माथि रहेको बताउँदै नेपाल अर्को एक राम्रो क्रिकेट टोलीको रुपमा उदाउनु पर्ने बताएका छन्। विमानस्थलमा अवतरण गरे लगत्तै पत्रकार सम्मेलनमा बोल्दै उनले भने- ‘दक्षिण एशियामै क्रिकेट राम्रो छ। नेपाल पनि माथि आएर दक्षिण एशियामा अर्को एउटा राम्रो टोलीको रुपमा उदाउनु पर्छ।
मलाई लाग्छ त्यसका लागि नेपालले केही समय पर्खनु पर्नेछ।’ झन्डै १० मिनेट लामो पत्रकार सम्मेलनमा उनले नेपालको क्रिकेट माथि पुर्याउन पूर्वाधार निर्माणमा जोड दिए। नेपाली क्रिकेट बारे सुने पनि व्यस्त तालिकाले गर्दा पछ्याउन नभ्याएको उनले बताए। ‘मैले नेपाली क्रिकेटको बारेमा केही सुनेको छ तर भारतीय क्रिकेटको क्यालेन्डर यति व्यस्त छ कि हामीले अरु एशोसिएट राष्ट्रको क्रिकेट पछ्याउनै सक्दैनौं’, उनले भने। नेपाली खेलाडीहरुलाई उनले अध्ययन र खेलकूदमा सँगै अघि बढ्न सल्लाह दिए। ‘एउटा खेलकूदकर्मी भएका नाताले कुनै पनि खेलका नेपाली खेलाडीले पढाइका साथै खेल पनि अघि बढाउनु पर्छ’, धोनको कथन थियो- ‘यी दुई कुरा कुनै पनि व्यक्तिको जीवनमा निकै महत्त्वपूर्ण हुन्छन्।’
पत्रकार सम्मेलनपछि धोनी याक एण्ड यति होटलतर्फ लागेका छन्। उनको नेपाल भ्रमणको संयोजन भारतीय दूताबासले गरिरहेको छ। भारतीय दूताबासको संयोजनमा नेपाल आएका धोनीले २ दिन नेपालमा बिताउँने छन्।
११ : ३० बजे धोनी कीर्तिपुर क्रिकेट मैदान पुगेर नेपाली यु १९ र राष्ट्रिय खेलाडीसँग २ घण्टा बिताउने छन्। नेपाली यु १९ टोली मलेसियामा अर्को हप्ता सुरु हुने यु १९ एशिया कपको तयारीमा छ। र नेपालले पहिलो खेल भारतसँग नै खेल्दैछ।
विश्व क्रिकेटका सवैभन्दा ठूला स्टारमध्येका एक धोनीको नेपाल भ्रमण अहिलेसम्मकै खेलकुदको ‘हाई प्रोफाइल’ भ्रमण हो। यसअघि आईसीसीका तत्कालिन अध्यक्ष इशान मणी, फिफा अध्यक्ष सेप व्लाटर तथा पूर्व क्रिकेटरहरु कपिलदेव, सुनिल गावास्करलगायतका ठूला व्यक्तित्व नेपाल आए पनि वर्तमान खेलाडीको हकमा भने नेपाल आउने धोनी सवभन्दा विशिष्ट व्यक्तित्व हुन्।
भारतीय दुतावासले धोनीको भ्रमणलाई नेपाली क्रिकेट टोली, क्रिकेटकर्मी तथा सञ्चारकर्मीसंग अन्तरक्रिया राखेर युथ इन्गेजमेन्ट प्रोग्रामको नाम दिएको छ। जसले नेपाली राष्ट्रिय क्रिकेटरहरुको व्यग्रता झनै बढेको छ। के भने धोनीले? भिडियो हेर्नुस् :श्रोत -नागरिकन्युज