१६ असार, काठमाण्डौं । नेपालको पछिल्लो
राजनैतिक घटनाक्रम र परिस्थितिका बारेमा जानकारी लिन काठमाण्डौं आएको
चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले आजदेखि राजनैति भेटबार्ता जारी राख्ने
भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका एसिया मामिला सम्बन्धी
उपमन्त्री आइपिङको नेतृत्वको टोलीले आज शीर्ष तीन दलका नेताहरुसँग छलफल
गर्ने कार्यक्रम रहेको छ ।
पिङले आजै विहान नौ बजे एमाले अध्यक्ष
झलनाथ खनाललाई भेटि देशको पछिल्लो गतिविधि एमालेको नयाँ रणनीति लगायतका
विषयमा छलफल गर्नुहुने छ ।
त्यस्तै बिहान ११ बजे काँग्रेस सभापति
सुशिल कोइरालासँग छलफल गर्नुहुने कार्यक्रम तय भएको छ । पिङले कोइरालासँग
पनि पछिल्लो राजनैतिक घटनाक्रम बिघटित संविधान सभा लगायतका विषयमा छलफल
गर्नुहुने छ ।
त्यस्तै दिउँसो दुई बजे माओवादी अध्यक्ष
प्रचण्डसँग छलफल गर्ने कार्यक्रम रहेको छ । तीन दिने नेपाल बसाईकाक्रममा
आएको टोलीले शीष नेताहरुसँगको छलफल पछि राष्ट्रपति डा. रामवरण यादव,
प्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपप्रधानमन्त्री विजयकुमार
गच्छदारलगायतलाई पनि भेट्ने कार्यक्रम छ । नेपालको पछिल्लो राजनीतिक
अवस्थाको बारेमा अध्ययन गर्न नेपाली आइपुगेको चिनियाँ कम्युनिस्ट नेताहरूको
यो भ्रमण अनौपचारिक रहेको चिनियाँ दुतावासले जनाएको छ ।
संविधानसभा विघटनपछि नेपालको राजनीतिका बारेमा चीनले गहिरो चासोका साथ लिइरहेको बेला भएको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।