Responsive Ad Slot

latest

तनहुँ खबर मा नेपालको समाचार एकै थलोमा

Friday, June 8

/ by Admin BHOLA THAPA
काठमाण्डौं, जेष्ठ २६

काङ्ग्रेसका असन्तुष्ट नेताहरु पनि आजको विरोधसभामा जाने ।।

आदिबासी, जनजाति समुदायबाट पार्टीमा प्रतिनिधित्व गर्ने नेताहरुको मागको बारेमा केन्द्रीय समितिको बैठकमा छलफल गर्ने सभापतिको प्रतिबद्वतापछि नेपाली काङ्ग्रेसका आदिवासी, जनजाति नेताहरु पनि आज हुने विरोधसभामा सहभागि हुने भएका छन् । पार्टी सभापति सुशील कोइराला निवास महाराजगन्जमा बिहान भएको भेटमा आदिवासी, जनजाति नेताहरुले पहिचानसहितको सङ्घीयताको आफूहरुको माग सम्बोधन नगरी पार्टी एकतर्फी रुपमा अघि बढेकोभन्दै असन्तिुष्टि जनाएका थिए । जवाफमा सभापति कोइरालाले पार्टीको आगामी केन्द्रीय समितिको बैठकमा संघीयताको बारेमा छलफल गर्ने र माग सम्बोधनको लागि पहल गर्ने प्रतिबद्वता जनाएपछि असन्तुष्ट नेताहरु आजको विरोधसभामा सहभागी हुन सहमत भएको काङ्ग्रेस नेता अर्जुनरसिंह केसीले जानकारी दिनुभयो । भेटमा सभापति कोइरालाले संघीयताको विषयमा पार्टीमा छलफल गर्ने र उचित निकास दिने बताउनु भएको थियो । काङ्ग्रेसका आदिवासी तथा जनजाति नेताहरुले संघीयताको विषमा पार्टी नेतृत्व गम्भीर नभएकोभन्दै आजको विरोध कार्यक्रम बहिष्कार गर्ने तयारी गरेपछि सभापति कोइरालाले असन्तुष्ट नेताहरुसँग छलफल गर्नु भएको हो ।

माओवादी आन्तरिक छलफलमा ।।

एकीकृत नेकपा माओवादीले असार १ गते गर्ने प्रदर्शलाई सशक्त बनाउने अभियानस्वरुप आन्तरिक छलफललाई तीब्रता दिएको छ । आज बिहान पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा नेवाः र ताम्सालिङ राज्यसमितिका केन्द्रीय सदस्यहरुसँग छलफल गरेर प्रदर्शन सशक्त बनाउने माओवादीले निर्णय गरेको छ । छलफलपछि माओबादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले बर्तमान अवस्थामा राष्ट्रिय सहमति गरेर जानुपर्नेमा सबैले जोड दिएको बताउनुभयो । संबिधानसभा बिघटन र संबिधानसभा निर्बाचनको बिरोधमा प्रतिपक्षीले सुरु गरेको आन्दोलन र असार १ गते पार्टीको बरिष्ठ नेता मोहन बैद्य समूहले बोलाएको भेलाको बिषयमा पनि छलफल भएको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष एवम प्रधानमन्त्री डा बाबुराम भट्टराई, लगायतका शिर्षनेता र राजधानीमा उपलब्ध ताम्सालिङ र नेवा राज्य समितिका केन्द्रीय सदस्यहरुको सहभागीता रहेको थियो ।

एमाले निकट विद्यार्थी नेता शाहीमाथि गोली प्रहार ।।

नेकपा एमाले निकट विद्यार्थी नेता वसन्त शाहीमाथि आज बिहान राजधानीमा गोली प्रहार भएको छ । नयाँबजारस्थित मेडिकल चोकनजिक बिहान अज्ञात व्यक्तिले प्रहार गरेको गोली लागेर शाही गम्भीर घाइते हुनु भएको छ । घाइते शाहीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले जनाएको छ । शाही अमृत साइन्स क्याम्पसका अनेरास्ववियूका इकाई उपाध्यक्ष हुनुहुन्छ । शाहीको घाँटीको अगाडिपट्टिको भागमा लागेर गोली पछाडिबाट निस्किएको प्रहरीले जनाएको छ ।

काङ्ग्रेस, एमाले लगायत २२ दलले आज विरोधसभा गर्दै ।।

सरकारले एकलौटी ढङ्गले गरेको संविधानसभाको चुनाव घोषणाविरुद्ध काङ्ग्रेस, एमाले लगायतका २२ दलले आज राजधानी काठमाडौंमा विरोधसभा गर्दैछन् । प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले संविधानसभाको नयाँ चुनाव घोषणा गरेपछि सरकार विरुद्ध आन्दोलनमा उत्रिएका नेपाली काङ्ग्रेस,नेकपा एमाले लगायतका दलहरुले राजधानीको खुल्लामञ्चमा दिउँसो १ बजेपछि शक्ति प्रदर्शन तथा आमसभा गर्न लागेका हुन् । सभालाई काङ्ग्रेस, एमाले लगायत दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । आमसभाअघि राजधानीका विभिन्न ठाउँबाट ¥याली निकालिने भएको छ । काङ्ग्रेस नेतृत्वमा सुन्धारा, एमाले नेतृत्वमा भृकुटीमण्डप, चुरेभावरले पुतलीसडक न्यूप्लाजा, नेकपा मालेले गौशाला, जनता दलले लैनचौर तथा अन्य साना दलहरूले भद्रकालीबाट एकसाथ ¥याली निकाल्ने तयारी भएको नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । संविधानसभा विघटन भएपछि नयाँ निर्वाचनमा जाने सरकारको निर्णयको विरोधमा सरकार बाहिर रहेका दलहरुको गठबन्धनले आज विरोधसभा गर्न लागेको हो । सरकारले असंवैधानिक रुपमा संविधानसभाको नयाँ निर्बाचन घोषणा गरेकोभन्दै सरकारविरुद्वको मोर्चावन्दीमा लागेका दलहरुले आजबाट संवैधानिक र राजनीतिक रुपमा लडाइ सुरु हुने बताएका छन् । राष्ट्रिय सहमतिको लागि प्रधानमन्त्रीले पद् छोड्नुपर्ने शर्त उनीहरुले राखेका छन् ।

जिल्ला शिक्षा कार्यालय रौटहटमा धर्ना ।।

अशोक पहाडी,  रौतहट
विभिन्न ७ सुत्रिय मागसहित शिक्षक संघर्ष समिति रौतहटले बिहीबारदेखि जिल्ला शिक्षा कार्यालय गौरको मूल गेटमा धर्ना शुरु गरेको छ । अनियमित तरिकाले गरेको शिक्षक नियुक्ती खारेजी र गैरकानूनी शिक्षक सरुवाको बिरोध गर्दै धर्ना शुरु गरिएको शिक्षक जयप्रकाश यादवले बताउनुभयो । धर्ना कार्यक्रम तीन दिनसम्म जारी रहने छ । आफूहरुले केही समय अघि प्रमुख जिल्ला अधिकारी मार्फत शिक्षा विभागमा ज्ञापनपत्र पठाएको भएपनि आफूहरुको मागमा कुनै सुनुवाई नभएपछि
आन्दोलनमा उत्रिनु परेको शिक्षक संघर्ष समितिका अध्यक्ष देवानन्द चौधरीले बताउनु भयो ।

रौतहटमा बज्जिका भाषी शिक्षकहरुको भेला ।।

अशोक पहाडी, , रौतहट
बज्जिका भाषाका शिक्षकहरुको रौतहट जिल्ला भेला सम्पन्न भएको छ । बज्जिका भाषी जेष्ठ शिक्षक छठु दशको अध्यक्षतामा सम्पन्न भेलाले ७ सदस्यीय बज्जिका शिक्षण उत्थान समिति पनि गठन गरेको छ । समितिको अध्यक्षमा चन्द्रकिशोर झा, उपाध्यक्षमा राजदेव यादव, सचिवमा मेनका साह, सहसचिव रामनारायण यादव र कोषाध्यक्षमा संगीताकुमारी चौधरी रहनु भएको छ । समितिले बज्जिका भाषामा पठनपाठन, पाठ्यपुस्तक निर्माण र बज्जिका भाषाको शिक्षण बिधी तयार गर्न पहल गर्ने पनि बताएको छ । यसैबीच रौतहट जिल्लाको सदरमुकाम गौरमा आधा दशक पहिले भाँचिएको वीपी कोइरालाको शालिक हालसम्म मर्मत हुन सकेको छैन । मधेसमा २०६३ सालमा भएको आन्दोलनका क्रममा देशको विभिन्न स्थानमा भएका शालिक तोडफोडसँगै गौरको वीपीचोकमा रहेको महामानव कोइरालाको शालिक तोडफोड भएको थियो ।

गौशालामा बिषालु सर्पको टोकाइबाट बालकको ज्यान गयो ।

सन्तोष पोखरेल,  ,महोत्तरी
महोत्तरीको गौशाला २ घर भएका ललितप्रसाद साहको ८ महिनाका छोरा शिवम साहको आज बिषालु सर्पको टोकाईबाट मृत्यु भएको छ । साहलाई घरमै रहेका अवस्थामा सर्पले टोकेको हो । तराईका जिल्लामा बढ्दो गर्मीसँगै बिषालु सर्पको बिग–बिगि बढेको छ । पानि नपरेका कारण सर्पको े बिग–बिगि बढेको स्थानियबासीको भनाई रहेको छ ।

महोत्तरीको बर्दिबासमा एक व्यक्ति मृत फेला

सन्तोष पोखरेल,  महोत्तरी
महोत्तरीको बर्दिबास ३ घर भएका मनोज फुयाल आज बर्दिबास ७ स्थित खेतमा मृत अवस्थामा फेला पर्नु भएको छ । हिजो घरबाट खेतमा पानि पटाउन जान्छु भनेर हिड्नु भएका फुयाल आज खेतमा मृत अवस्थामा फेला पर्नु भएको हो । फुयाललाई स्थानिय बासिले मृत अवस्थामा खेतमा देखे पछि प्रहरीलाई खबर गरेका थिए । फुयालको शवलाई अहिले पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको छ भने घटनाबारे अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यलय बर्दिबासका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

काँकडाका किसानहरु अम्रिसो खेति तर्फ अकर्षित ।।

बिपिन धिताल, मकवानपुर
काँकडा १ धुसाराङका किसानहरुले वर्षौदेखि लगाउँदै आएको मकै र कोदो खेतीलाई त्यागेर आयमूलक अम्रिसोको विरुवा रोपेका छन् । हरित अर्थतन्त्रः दीगो विकासको मुलमन्त्र भन्ने नाराका साथ मनाइँदै गरेको ४० औँ अन्तर्राष्ट्रिय विश्व वातावरण दिवसको अबसर पारेर भिरालो पाखा र खोरियामा १० हजारभन्दा बढी आयमूलक विरुवा रोपिएको हो । लामो समयसम्म खडेरी परेकाले यसपटक अम्रिसो मात्र रोपिएको हो । लामो खडेरीमा पनि अम्रिसो पलाउन सक्ने भएकाले रोपिएको स्थानीय धुसाराङ कृषि उपभोक्ता समितिले जनाएको छ । चेपाङ र तामाङ समुदायका मानिसहरुले पुरानै शैलीमा लगाउँदै आएको मकै र कोदो खेतीबाट मनग्य आम्दानी नहुने भएपछि आयमूलक बिरुवा रोपेका हुन् । ‘मकै, कोदोले भन्दा बढी आम्दानी दिने भएपछि अम्रिसो रोपेको धुसाराङका प्रथमलाल चेपाङले बताउनुभयो । मनहरी विकास संस्था (एमडीआई) नेपालले एकदशकदेखि काँकडा, राक्सिराङ, भार्ता, खैराङ, मनहरी, हाँडीखोला लगायत गाविसमा आयमूलक विरुवा रोपेर विपन्न वर्गको आयबृद्धिमा सघाउ पु¥याउँदै आएको छ । यसवर्ष वातावरण दिवसको अबसरमा पनि काँकडामा १० हजार विरुवा रोपिएको एम.डी.आई.ले जनाएको छ ।

ओखलढुंगाकी ३ वर्षीया बालिकाालाई ब्लड क्यान्सर, जीवन रक्षाका लागि आग्रह ।।

राजन रुचाल, , ओखलढुंगा
ओखलढुंगाको सिस्नेरी गाविसकी तीन वर्षिया बालिका समिक्षा रुचाललाई ब्लड क्यान्सर भएपछि सहयोगका लागि परिवारजनले आग्रह गरेका छन् । समिक्षाको उपचारका लागि खर्च अभाव भएकाले उपचारमा सहयोगका लागी बालिकाका बुबा वीर बहादुर विश्वकर्माले आग्रह गर्नुभएको छ । तीन महिना अघि ब्लड क्यान्सर भएको पत्ता लागेपछि परिवारले आफ्नै खर्चमा बालिकाको उपचार गराउँदै आएको थियो । तर कान्तिवाल अस्पताल काठमान्डौंमा उपचार गराईरहँदा खर्च धान्न नसक्ने अवस्था भएपछि अहिले घर फर्काएर ल्याईएको बुवा वीर बहादुर बिश्वकर्माले बताउनुभयो । तीन वर्ष सम्म अस्पतालमा राखेर उपचार गरे डाक्टरले रोग ठिक हुन्छ भनेका छन् तर तीन महिना त खर्च धान्न सकिएन कसरी तीन वर्ष सम्म अस्पतालमा राखेर उपचार गर्न सक्नु ? बिश्वकर्माले भन्नुभयो । तीन महिनाको अवधिमा छोरीको उपचारका लागि चार लाख भन्दा बढी खर्च भईसकेको आमा कल्पना बिश्वकर्माको भनाई छ । वाँकी उपचारका लागी २०÷२२ लाख खर्र्च लाग्ने भएकाले आफुहरुबाट उपचार सम्भव नभएको भन्दै परिवारले तीन वर्षिया नाबालक छोरीको जीवन रक्षाका निम्ति सहयोग गरिदिन आग्रह गरेको छ । सहयोग गर्न चाहानेहरुले टुरिजम् डेभ्लप्मेन्ट वैंक शाखा कार्यालय ओखलढुंगाको चल्ती हिसाव खाता नम्बर ००४००००६३४१० मा रकम जम्मा गर्न सक्ने परिवारले जनाएको छ । साथै सहयोग गर्न चाहनेले ९८४२८९५६७६ र ९८४२९७७७२० मा फोन सम्पर्क गर्न पनि परिवारजनले आग्रह गरेका छन् ।

फूटबल प्रतियोगिता युरोकप आजबाट सुरु हुँदै ।।

विश्वकप पछिको दोस्रो ठूलो फूटबल प्रतियोगिता युरोकप आजबाट सुरु हुँदै छ । पोल्याण्ड र युक्रेनले संयुक्तरुपमा आयोजना गरेको प्रतियोगितामा १६ टोली सहभागी छन् । प्रतियोगिताको उद्घाटन खेलमा सहआयोजक पोल्याण्डले घरेलु भूमिमा ग्रिसको सामना गर्दै छ । वार्सास्थित नेशनल स्टेडियममा नेपाली समयअनुसार राति पौने ११ बजेबाट खेल सुरु हुने बताइएको छ । दुवै टोली जित हात पार्दै सुखद सुरुवात गर्ने दाउमा छन् । यी दुई टोलीबीच पछिल्लोपटक भएका दुई मैत्रीपूर्ण खेलमध्ये एउटा बराबरीमा सकिएको थियो भने अर्कोमा पोल्याण्डले दुई–शून्यको जीत हात पारेको थियो । यस्तै अर्को खेलमा रुसले चेक गणतन्त्रको सामना गर्दै छ । नेपाली समयअनुसार यी दुईबीचको खेल राति साढे एक बजे सुरु हुने छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI