Responsive Ad Slot

latest

आन्दोलन 'राष्ट्रपतिलाई दबाब दिन होइन'

Friday, June 8

/ by Unknown
काठमाडौं, जेठ २६ -कांग्रेस-एमालेले 'राष्ट्रपतिलाई सरकारविरुद्ध कदम चाल्न दबाब दिन' नभई माओवादीको सत्ताकब्जा रणनीति विफल पार्न सडकमा आएको बताएका छन्। शुक्रबार राजधानीमा कांग्रेस-एमालेसहित प्रतिपक्षी २२ दलको गठबन्धनले आयोजना गरेको आमसभाबारे बिहीबार कांग्रेस मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा नेताहरुले सत्तारुढ नेताको आरोप खण्डन गरेका हुन्।'राष्ट्रपतिलाई दबाब आन्दोलन गर्न लागेको भन्ने गलत हो,' पत्रकार सम्मेलनमा कांग्रेस सभापति सुशील कोइरालाले भने, 'संविधानसभा भंग गरी अर्को चुनाव घोषणा गर्ने सरकारको असंवैधानिक कदमविरुद्ध हो।'
दुई दिनअघि राजधानीको एक कार्यक्रममा सञ्चारमन्त्री राजकिशोर यादवले कांग्रेस-एमालेले राष्ट्रपतिलाई दबाब दिन सडक आन्दोलन गर्न लागेको आरोप लगाएका थिए।
माओवादीले सत्ता कब्जा गर्न संविधानसभा भंग गरेको कोइरालाले दोहोर्‍याए। 'माओवादीको सत्ताकब्जा रणनीतिलाई रोक्न र राष्ट्रिय सहमतिका लागि दबाब सिर्जना गर्न आन्दोलन आवश्यक भएको भयो,' उनले भने, 'राष्ट्रपतिले हामीसँगको भेटमा सबै कुरा विधिविधानअनुसार मात्रै गर्ने बताउनुभएको छ।'
एमाले अध्यक्ष झलनाथ खनालले पनि राष्ट्रपतिलाई दबाबका लागि आन्दोलनमा नआएको बताए। 'राष्ट्रपतिलाई आफ्नो अधिकार र कर्तव्यबारे राम्रो जानकारी छ,' खनालले भने, 'उहाँ संविधानका परिपालक हुनुहुन्छ, आफ्नो अधिकार र कर्तव्य पक्कै बुझ्नुभएको छ। त्यसको पालना गर्दै आउनुभएको छ।' आफूहरुले राष्ट्रपतिलाई कहिल्यै कुनै दबाब नदिएको खनालले दोहोर्‍याए।
सहमतिका आधारमा निर्णय गर्नुपर्ने अन्तरिम संविधानको व्यवस्था माओवादी सरकारले उल्लंघन गरेको कोइरालाले जनाए।
'सरकारले कसैलाई थाहा नदिई सुटुक्क निर्वाचन घोषणा गरेको छ, यो सहमतिका आधारमा निर्णय गर्नुपर्ने अन्तरिम संविधानको व्यवस्थाविपरीत छ,' उनले भने।
शुक्रबारको शक्तिप्रदर्शन 'टेलर' मात्र भएको नेताहरुले चेतावनी दिए। पत्रकार सम्मेलनमा उनीहरुले थप आन्दोलन शनिबार घोषणा गर्ने पनि जानकारी दिए।
'बन्दहडतालबाहेक विरोधका कार्यक्रम सञ्चालन गर्छाैं,' एमालेका कृष्णगोपाल श्रेष्ठले नागरिकसँग भने।
आन्दोलनमा कतैबाट पनि व्यवधान नआउने कोइरालाले बताए। उनले भने, 'हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ, कतैबाट व्यवधान हुनेछैन।'
मन्त्री यादवले आन्दोलनका नाममा चुनाव भाँड्न खोजिए हस्तक्षेप गर्ने चेतावनी दिएका थिए।
खनालले सत्तारुढ दलहरुले संविधानसभा विघटन र नयाँ निर्वाचन घोषणा गरेर मुठभेड निम्त्याएको बताए।
'अहिले देशमा सत्तारुढ दलले मुठभेडको अवस्था सिर्जना गरेका छन्, त्यसले संवैधानिक र राजनीतिक संकट उत्पन्न गरेको छ। त्यसलाई राष्ट्रिय सहमतिका आधारमा समाधान गर्नुपर्छ। त्यसैका लागि दबाब दिने आन्दोलन हो,' उनले भने।
पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले आन्दोलन कसैलाई 'गलाउन र सन्काउन' नभई राजनीतिक दबाबका लागि भएको बताए।
पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, एमाले महासचिव ईश्वर पोखरेललगायत थिए।
आमसभाअघि दिउँसो १ बजे कांग्रेसले सुन्धारा, एमालेले भृकुटीमण्डप, राप्रपा र राजपाले नक्साल, मालेले गौशाला, चुरे भावरले न्युप्लाजा र अन्य दलले भद्राकालीबाट विरोध जुलुस निकाल्नेछन्।
२ बजे सुरु हुने सभालाई पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, कांग्रेस सभापति कोइरालालगायत दलका प्रमुख नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
Don't Miss
© all rights reserved
made with by netKUTI