पृथ्वी चोकमा प्रहरीद्वारा अश्रुग्यास प्रहार
कास्की, वैशाख २८ गते । संयुक्त संघर्ष समितिले जातीय राज्यको विरुद्ध आह्वान गरेको नेपाल बन्दका क्रममा बिहीबार पोखरामा झडप भएको छ । बन्द गराउँदै हिँड्ने र बन्द गर्न नमान्ने बीच भएको झडपका क्रममा दुई जना घाइते भएका छन् । पोखराको छोरेपाटनमा भएको झडपमा घाइत भएको दुई जनाको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घाइतेको पहिचान खुलेको छैन ।
यसैगरी पृथ्वी चोकमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । हस्तक्षेपका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपमा कान्तिपुर संवाददाता शिव शर्मा पनि घाइते भएका छन् ।
घटनामा संलग्न रहेको भन्दै सात जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी शैलेश थापाले जानकारी दिए ।
उनले अन्य ठाउमा मुठभेड हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको जनाएका छन् ।
क्षत्री समाज नेपाल, ब्राह्मण समाज नेपाल, ठकुरी समाज महासंघ नेपाल, नेपाल दशनामी समाज, विभेदमुक्ति प्रगतिशील समाज, दलित जनजागरण सेवा संघ, खस क्षत्री एकता समाज पिछडा वर्ग महासंघले जातिय राज्यको विरोधमा आन्दोलित हुँदै बन्द आह्वान गरेको हो ।
बन्दले उपत्यका सहित मुलुकभरको जनजीवन ठप्प
संयुक्त संघर्ष समितिले जातीय राज्यको विरोध तथा ब्राह्मण क्षेत्री लगायतको पनि पहिचान हुनुपर्ने लगायतका माग राखेर आह्वान गरेको बन्दका कारण काठमाडौं उपत्यका सहित मुलुकको विभिन्न भागको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । संघर्ष समितिमा क्षत्री, ब्राह्मण, दसनामी सन्न्यासी, ठकुरी, दलितलगायतका समुदायको प्रतिनिधित्व रहेको छ ।
समाजमा आवद्ध युवाहरु बिहानैदेखि विभिन्न चोक चोकमा उभिएर प्रदर्शन गर्नुका साथै यातायात संचालनमा अवरोध पुर्याएका छन् । प्रहरीले जबरजस्ती सवारी साधन रोक्न खोजेका दर्जनौं व्यक्तिलाई पक्राउ समेत गरेको छ । राजधानीका सडकमा बिहान केही सवारी साधन गुडे पनि ८ बजे पछाडि करिब करिब ठप्प नै देखिएको छ । सर्वसाधारण हिँडेर गन्तव्य तर्फ गइरहेको देखिएको छ ।
समाजले नेपाल बन्द आह्वान गरेका कारण मुलुकको अन्य भागमा पनि जनजीवन प्रभावित भएको छ । समाजको बन्दमा जातीय राज्यको विरोध गर्दै आएका अन्य समुदायको पनि समर्थन देखिएको छ ।
मुस्लिमद्वारा बन्द
लहान । मुस्लिम समुदायको छुट्टै पहिचानसहितको संविधान बन्नुपर्ने माग गर्दै राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले आह्वान गरेको बन्दका कारण आज ९बिहीबार० सिरहाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण सिरहाको लहान लगायतका क्षेत्रमा यातायात, बजार, पसल, कलकारखाना बन्द छन् । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका कार्यकर्ताहरू बिहानैदेखि लहानमा यातायात, बजार बन्द गराउन निस्किएका थिए । पूर्व पश्चिम राजमार्ग लगायत सिरहाका सहायक मार्गमा समेत यातायात बन्द छ । एम्वुलेन्स, प्रेसका गाडीलाई भने अवरोध गरेका छैनन । गठवन्धनले शान्तिको बहाली, नयाँ बन्ने संविधानमा मुस्लिम समुदायको हक अधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै वैशाख २० गतेदेखि चरणबद्ध संघर्षको कार्यक्रम गर्दै आएका छन् ।
इनरुवा । मुस्लिम संघर्ष गठबन्धनले आह्वान गरेको तराइ बन्दका कारण सुनसरीको जनजीवन पूर्ण रुपले प्रभावित भएको छ । पूर्व पश्चिम लोकमार्गको सुनसरी खण्डमा कुनै पनि सवारी साधन चलेका छैनन् । राष्ट्रिय मुस्लिम सघर्ष गठबन्धन समितिले आह्वान गरेका बन्दका कारण रौतहटको जनजीवन प्रभावित भएको छ । बन्दका कारण पूर्वपश्चिम लोकमार्गमा कुनै पनि सवारी चलेका छैनन् ।
एकैदिन तीन संगठनको बन्द
नेपालगञ्ज । बाँके लगायत तराई क्षेत्रमा बिहीबार एकसाथ तीन संगठनले बन्द आह्वान गरेका छन् । संयुक्त संघर्ष समिति, राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन र अखण्ड मध्यपश्चिम संघर्ष समितिले समान उद्देश्य राखेर छुट्टाछुट्टै बन्द आह्वान गरेका हुन् । क्षेत्री समाज, ब्राह्मण समाज, ठकुरी समाज, दशनामी समाज, दलित जनजागरण सेवा संघ, विभेद मुक्ति प्रगतिशील समाज, खस क्षेत्री एकता समाज र पिछडा वर्ग महासंघ सम्मिलित संयुक्त संघर्ष समितिले बिहीबार र शुक्रबार नेपाल बन्द आह्वान गरेको छ ।
दाङ । राष्ट्रिय अखण्डता र जातीय सदभावका लागि संयुक्त संघर्ष समितिले आह्वान गरेको दुई दिने नेपाल बन्दका कारण आज बिहानैदेखि दाङको जनजीवन प्रभावीत भएको छ । संघर्ष समितिमा ब्राह्मण, क्षेत्री लगायतका विभिन्न जातिगत संघ संगठनहरू समावेश छन् । संयुक्त संघर्ष समितिले आयोजना गरेको दुइदिने नेपाल बन्दले बिहीबार पहिलो दिन सिन्धुलीको जनजीवन समेत प्रभावित बनेको छ । धनकुटामा ब्राह्मण क्षेत्री समाज, दशनामी लगायतले आजदेखि गराएको बन्दका कारण जनजीवन प्रभावित बनेको छ । बन्दको प्रभाव पाल्पा, लमजुङ, कपिलवस्तु, विराटनगर, झापा, चितवन, हेटौडा, सर्लाही, बागलुङमा पनि परेको छ ।
अखण्ड मध्यपश्चिमको माग
गुलरिया । अखण्ड मध्यपश्चिमको माग गर्दे स्थानीयले आह्वान गरेका बन्दले बर्दियाको जनजीवन प्रभावित भएको छ । जातीय राज्य बनाउन पाइँदैन, मध्यपश्चिम टुक्राउन पाइँदैन, हिमाल, पहाड, तराई हाम्रो साझा अधिकार लगायतका माग राख्दै दुई दिने बन्दको आह्वान गरेका हुन् ।
सुदूरपश्चिममा बन्द यथावत
महेन्द्रनगर । अखण्ड सुदूरपश्चिमको माग गर्दै सुरु भएको आन्दोलन बिहीबार १४ औं दिन पनि जारी छ । आम हड्तालका कारण कैलाली कञ्चनपुर लगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरूको जनजीवन प्रभावित भएको छ ।
बिहीबार क्षेत्री, ब्राह्मण, ठकुरी लगायतका विभिन्न संघ संस्थाहरूले पनि आन्दोलन सुरु गरेपछि बन्द अझ चर्किएको छ । सरकारले सुदूरपश्चिममा जारी आन्दोलनका छलफल गर्न वार्ता टोली गठन गरेको भए पनि आन्दोलन रोकिएको छैन । बन्दका कारण लामो समयदेखि यातायात सेवा ठप्प भएपछि सुदूरपश्चिमका पहाडी जिल्लासँगै तराई कैलाली कञ्चनपुरमा पनि दैनिक उपभोग्य वस्तु र औषधीको अभाव भएको छ । समाचार श्रोत कान्तिपुर