Responsive Ad Slot

latest

घर झगडा मिलाउन कांग्रेस सभापतिलाई दबाब

Thursday, May 31

/ by Admin BHOLA THAPA
गोविन्द परियार, काठमाडौं, जेठ १८ - कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वसभासदहरुले 'घरझगडा' मिलाएरमात्र पार्टी रणनीति तय गर्न सभापतिलाई दबाब दिएका छन्। संविधानसभा विघटनपछिको परिस्थितिबारे छलफल गर्न मुख्यालयमा बिहान ११ बजे पूर्वसभासद भेला र सकिएलगत्तै दिउँसो २ बजे केन्द्रीय समिति बैठक बसेको थियो।
बुधबार पार्टी मुख्यालय सानेपामा भएको पूर्वसभासद भेला र लगत्तै बसेको केन्द्रीय समिति बैठकमा सहभागी अधिकांशले सभापति सुशील कोइरालालाई पार्टी विवाद तत्काल मिलाएर एकताको सन्देश दिन र पार्टीको आगामी रणनीति बनाउन आग्रह गरे।

भेलाका सहभागीले पार्टीको आन्तरिक व्यवस्थापनमा सभापतिको कार्यशैलीमा असहमति जनाउँदै वरिष्ठ नेता शेरबहादुर देउवासँग तत्काल छलफल गरी विवाद मिलाउन आग्रह गरेका थिए।
'हाम्रो घर विभाजित छ, घर एकताबद्ध नगरी अहिले मुलुकसामु देखिएको यत्रो ठूलो चुनौती सामना गर्न सकिँदैन,' बैठकमा अधिकांश सदस्यका धारणा उद्धृत गर्दै केन्द्रीय सदस्य गगन थापाले नागरिकसँग भने, 'नेतृत्वले तत्काल असन्तुष्ट पक्षसँग कुरा गरी विवाद मिलाएरमात्र पार्टीले भावी रणनीति तय गर्नुपर्छ।'
केन्द्रीय समिति बैठकको सुरुमै केन्द्रीय सदस्यहरु महेश आचार्य, थापा, मीनेन्द्र रिजाल, नरहरि आचार्य, आमोदप्रसाद उपाध्यायलगायत अधिकांशले पार्टी विवाद मिलाउन नेतृत्वलाई दबाब दिएका थिए।
छलफलमा कोइरालाले बदलिँदो राजनीतिक परिस्थितिमा जुनसुकै बेला पार्टीले चुनाव 'फेस' गर्नुपर्ने बताउँदै पूर्वसभासदहरुलाई गाउँ जान निर्देशन दिएका थिए।
सभासदहरुले भने 'नेतृत्वले सानातिना विवादमा अल्भि्कएर संगठन विस्तार ठप्प गरेको अवस्थामा जिल्ला जान नसकिने' धारणा राखेका थिए। 'तपाईंहरु केन्द्रमा झगडा गर्ने, केन्द्रीय समितिको पूर्ण बैठक नौ महिनादेखि बस्न सकेको छैन, यो अवस्थामा हामी पार्टीको विवाद लिएर जनताकोमा जाने?' सभासद गणेशबहादुर खड्काले कोइरालालाई प्रश्न गरे, 'पार्टीको विवाद नमिलाई जिल्ला जाने अवस्था छैन, जतिसक्दो चाँडै विवाद मिलाएर एकताको सन्देश दिनुस्।'
जुनसुकै बेला चुनावमा जानुपर्ने बताउँदै सभापतिले गाउँ फर्कन निर्देशन गरेलगत्तै केही सभासदले सभापतिप्रति लक्षित गर्दै भनेका थिए, 'तपाईंहरु चुनाव हारेकाले जनतालाई जवाफ दिनुपर्दैन, हामीले के जवाफ दिने?'
सभापति कोइरालाले असोजमा पार्टीको भ्रातृ संस्था विघटन गरेयता चुलिएको विवादले देउवा पक्ष केन्द्रीय समितिमा गएको छैन।
विवादकै कारण पार्टीका मनोनीत हुन बाँकी पाँच केन्द्रीय सदस्य, केन्द्रीय विभाग, केन्द्रीय समिति र चुनावमा उम्मेदवार चयन गर्ने संसदीय समिति गठन हुन सकेको छैन। देउवा पक्षले पार्टी सभापतिसँग पटकपटक भएका सहमति कार्यान्वयन नभएकाले विवाद नमिलेसम्म केन्द्रीय समिति बैठकमा सहभागी नहुने अडान राख्दै आएको छ।
सभासदसँगको छलफलमा कोइरालाले माओवादीले निरंकुश संविधान बनाउन खोजेकाले संविधानसभा भंग भएको जानकारी गराएका थिए। कांग्रेसले लोकतान्त्रिक संविधान र माओवादीले निरंकुश संविधान बनाउन खोजेकाले सहमति हुन नसक्दा संविधानसभा भंग भएको कोइरालाले सभासदहरुलाई प्रस्ट पारेका थिए।
'सञ्चारमाध्यममा आएजस्तो संघीयताका कारण संविधान नबनेको होइन,' कोइरालालाई उद्धृत गर्दै पूर्वसभासद थापाले भने, 'माओवादीको निरंकुश संविधान बनाउने योजना कांग्रेसले असफल बनाएपछि संविधानसभा विघटन भएको हो।'
उपसभापति रामचन्द्र पौडेल निकट सभासद मोहन पाण्डेले विघटित संविधानसभा पुनर्स्थापनाको माग कांग्रेसले अघि सार्नुपर्ने धारणा राखेका थिए।
सभासदहरुले पार्टी राष्ट्रिय राजनीतिमा कमजोर हुनुको मुख्य कारण शीर्षनेताहरुको असफलता भन्दै नेतृत्वलाई संगठनभित्र जिम्मेवारी दिँदा सही व्यक्ति चयन गर्न पनि सुझाएका थिए। सभासदहरुले भट्टराई नेतृत्वको सरकारमा पार्टीभित्र छलफलै नगरी सहभागी भएर कांग्रेसले गम्भीर गल्ती गरेको भन्दै नेतृत्वको आलोचना गरेका थिए।
केन्द्रीय समिति बैठकमा पनि अधिकांश सदस्यले संविधानसभा विघटन कांग्रेस-एमालेका कारण भएको माओवादी झुटो प्रचारबारे नेतृत्वले जनतासमक्ष प्रस्ट पार्नुपर्ने औंल्याए। 'संविधानसभा विघटन कांग्रेस र एमालेका कारण भयो भनेर माओवादी गोयवल्स शैलीको प्रचार गरिरहेको छ,' केन्द्रीय सदस्यहरुले बैठकमा भने, 'संविधानसभा किन विघटन भयो भन्ने जनातालाई छर्लंग पार्नुपर्छ।'
संविधानसभा चुनावयता पटकपटक प्रयासमा पनि पार्टीले सरकार नेतृत्व गर्न नसकेको बारे गम्भीर समिक्षा माग गरेका थिए। 'पछिल्लो चार वर्षमा पार्टीको भूमिका किन कमजोर भयो? पटकपटकको प्रयासमा पनि सरकार बनाउन किन सकेन?' थापाले बैठकको आवाज सुनाए, 'पार्टीले गम्भीर समीक्षा गरेर कमजोरी पत्ता लगाएर नयाँ रणनीति तय गर्नुपर्छ।'
बैठकमा कांग्रेस जातीय अधिकारविरोधी भनेर माओवादीले एकलौटी प्रचार गरेकाले जनजातिको पहिचान, मधेसीको आत्मसम्मान र स्वाभिमान, दलितको अधिकार, बाहुन/क्षत्रीको पहिचानबारे पार्टीले स्पष्ट नीति तय गर्नुपर्ने सुझाव सदस्यहरुले राखेका थिए।
'अधिकार र पहिचानको खोजीमा भएका सबै समुदायको विषयमा पार्टीले नीति बनाउनु जरुरी छ,' थापाले भने, 'माओवादीले यी समुदायको समस्या समाधान गर्न सक्दैन, उनीहरुसँग संवाद गरेर सबैलाई ढोका खुला गरौं भन्ने बैठकको निष्कर्ष हो।'
भट्टराईले घोषणा गरेको नयाँ संविधानसभा चुनाव असंवैधानिक भए समाधान के त भन्नेमा पार्टी स्पष्ट हुुनपर्ने धारणा सदस्यहरुको थियो। 'संविधानसभा पुनर्स्थापना व्यावहारिक हुँदैन। फेरि शून्यबाट संविधानसभाबारे सोच्नु पनि हुँदैन,' केन्द्रीय सदस्यहरुको धारणा थियो, 'संविधानसभाले गरेका कामलाई संस्थागत गरी कुनकुन विषयमा विवाद देखियो, त्यहाँबाट छलफल सुरु गर्ने गरी समाधानको बाटो खोजी गरौं।'
देउवा पक्षको बैग्लै बैठक
संविधानसभा विघटन र प्रधानमन्त्रीले एकलौटी रुपमा नयाँ चुनाव घोषणा गरेपछिको पछिल्लो परिस्थितिबारे मंगलबार र बुधबार बसेको केन्द्रीय समिति बैठकमा पनि देउवा पक्षीय सदस्य गएनन्।
केन्द्रीय समिति बैठक बस्नुअघि बुधबार देउवा पक्षीय सदस्यको छुट्टै बैठक बसेको थियो। उक्त बैठकले नेतृत्वको अदूरदर्शिताले पछिल्लो समय कांग्रेस राष्ट्रिय राजनीतिमा कमजोर बनेको ठहर गरेको थियो।
'पार्टीका सनातिना विवाद नेतृत्वले मिलाउनुपर्ने हो। हामी सभापतिलाई सहयोग गर्ने पक्षमै छौं,' पूर्व उपसभापतिसमेत रहेका देउवा पक्षीय सदस्य गोपालमान श्रेष्ठले भने, 'विवाद मिलाउने कुरामा सभापतिले छाती ठूलो गर्नुपर्छ।'
देउवा पक्षीय सदस्यको बैठकले बिहीबार संविधानसभा विघटन र नयाँ चुनाव घोषणाबारे पार्टीलाई सुझाव दिने तयारी गरेको छ। बैठकले फेरि ६ सय १ को चुनाव गर्दा चुनाव खर्च धान्नै नसकिने, चुनावले मुलुकमा महँगी बढाउने भएकाले जनजीविकामै गम्भीर असर पुग्ने निष्कर्ष निकालेको छ।
Don't Miss
© all rights reserved
made with by netKUTI