काठमाण्डौं,जेष्ठ ३
नेकपा एमालेले आज १९ औं मदन आश्रित स्मृति
दिवस मनाउँदै छ । मदन स्मृति दिवसका अवसरमा अहिले पार्टी कार्यालय बल्खुमा
समारोह आयोजना हुँदै छ । केन्द्रीय कार्यालय परिसरमा रहेको मदन भण्डारीको
प्रतिमामा केन्द्रीय नेताहरूबाट माल्यार्पणको कार्यक्रम रहेको छ । यसैगरी
आज देशभर विभिन्न कार्यक्रम गरी एमालेले मदन आश्रित दिवस मनाउँदै छ ।
तत्कालीन महासचिव भण्डारी र सङ्गठन प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३
गते चितवनको दासढुङ्गामा जिप दुर्घटनमा परी निधन भएको थियो । दुई नेताको
मृत्यु हुनेगरी भएको जीप दुर्घटनालाई एमालेले रहस्यमय भन्दै आएको छ ।
एमालेको २०४९ सालमा सम्पन्न पाँचाँै अधिवेशनमा भण्डारीले जनताको बहुदलीय
जनवादलाई पार्टीको कार्यक्रमका रूपमा अघि सार्नुभएको थियो ।
यसैबीच नेकपा एमालेका अध्यक्ष झलनाथ
खनालले प्रेस विज्ञप्ति जारी गर्दै स्मृति दिवसका अवसरमा दुवै नेताहरूप्रति
पार्टीका तर्फबाट हार्दिक श्रद्धाजन्जली अर्पण गर्नुभएको छ ।