Responsive Ad Slot

latest

कार्यक्षेत्र नतोकिँदा मन्त्रीहरु कहाँ जाने, बस्ने अन्यौल

Thursday, May 17

/ by Admin BHOLA THAPA
काठमाडौं, जेठ ४ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईले बुधबार दोस्रोपटक एमालेसहित साना दलका मन्त्री थपेर मन्त्रिपरिषद पुनर्गठन गरेका छन्। राजनीतिक सहमतिमा गरिएको पुनर्गठनसँगै बिनाविभागीय मन्त्रीको संख्या १५ पुगेको छ। मन्त्रिपरिषद पुनर्गठन गरिए पनि कार्यक्षेत्र नतोक्दा मन्त्रीहरु कुन मन्त्रालय जाने र कहाँ बस्ने भन्ने अन्योलमा छन्।

मंगलबार संविधान लेखनका अधिकांश विवादित विषयमा माओवादी, कांग्रेस, एमाले र संयुक्त मधेसी मोर्चाबीच सहमति भएपछि एमालेलगायत अन्य साना दलले आफ्ना नेता मन्त्रिपरिषदमा पठाएका हुन्।

बुधबार एमाले महासचिव ईश्वर पोखरेललाई उपप्रधानमन्त्री, एमालेकी राधा ज्ञवाली, नेकपा संयुक्तका चन्द्रदेव जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका परशुराम खापुङ, नेपाः पार्टीका केशवमान शाक्य र परिवार दलका एकनाथ ढकाललाई मन्त्री पदमा नियुक्त गरिएको थियो।
बुधबारै शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री भट्टराईले उनीहरुलाई सपथ गराएका थिए। मन्त्रिपरिषदमा सामेल ज्ञवाली, जोशी, खापुङ, शाक्य र ढकाल पहिलोपटक मन्त्री भएका हुन्।
२०१४ देखि २०१९ सालसम्म नेपाली कांग्रेसमा रहेका जोशी त्यतिबेला नेपाली कांग्रेसले सुरु गरेको सशस्त्र विद्रोहमा सहभागी भएका थिए। माध्यमिक विद्यालयका शिक्षक उनी २०१९ सालपछि केही वर्ष काठमाडौंमा बिताए। 'त्यतिबेलाको सरकारले अन्तर्राष्ट्रिय तŒवको आरोप लगाएकाले राम्रो काम गर्न पाइएन। खलासीसमेत भएर काठमाडौंमा गुजारा चलाएँ,' मन्त्री जोशीले भने।
त्यसपछि जोशी अध्ययनका लागि रुस गएका थिए। रुसबाट उनले मेकानिकल इन्जिनियरिङ विषयमा एमएस्सी गरेका उनी २०२२ मा नेकपा संयुक्त (मानन्धर समूह) प्रवेश गरे। सुरुमा साधारण सदस्य रहेका उनी केही समयपछि पार्टीको वैचारिक विभागप्रमुखको जिम्मेवारी पाएका थिए। हाल उनी नेकपा संयुक्तका अध्यक्ष हुन्।
मन्त्री शाक्य हाल नेवाः पार्टीका अध्यक्ष हुन्। अमेरिकाको भर्जिनिया टेकबाट 'फरेस्टी इकोनोमी' मा विद्यावारिधि गरेका उनी पनि इन्जिनियर हुन्। उनी अमेरिकाबाट सन् १९८७ मा फर्केका थिए। सन् १९९२ सम्म उनले वन मन्त्रालयको बागमती जलाधार योजना प्रमुख भएर कार्य गरे।
२०४६ को आन्दोलनपछि त्यहाँबाट राजीनामा गरी उनले विभिन्न वैदेशिक नियोगमा १५ वर्ष कार्य गरे। उनले बेलायती सहयोग नियोग डिएफआइडी, जर्मनीको जिटिजेडलगायत स्विस र नेदरल्यान्डका नियोगमा रहेर समेत कार्य गरेका थिए। शाक्य पाँच वर्ष लुम्बिनी विकास कोषको उपाध्यक्ष रहे। त्यसपछि उनी चार वर्षयता नेपाः पार्टीमा आबद्ध छन्।

भारतको सिलोङमा जन्मेकी ज्ञवालीले राजनीति शास्त्रमा एमए गरेकी छन्। १३ वर्षको उमेरदेखि विद्यार्थी राजनीतिमा लागेको बताउने उनी २०२५ सालमा क्रान्तिकारी महिला संगठनको सदस्य बनेकी थिइन्। त्यसको एक वर्षपछि उनले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएकी थिइन्। २०३७ सालमा उनले अखिल नेपाल महिला संघको महासचिवको जिम्मेवारी पाइन्। २०५४ यता उनी एमालेको केन्द्रीय सदस्य छिन्।
राप्रपाबाट भट्टराई सरकारमा मन्त्री भएका खापुङ वामपन्थी पृष्ठभूमिकै हुन्। स्वतन्त्र वाम आन्दोलनमा संलग्न भएबापत उनलाई २०२८ सालमा राजकाज मुद्दा लागेको थियो। तत्कालीन शिक्षक संगठनबाट राजनीतिमा सक्रिय खापुङ झण्डै १५ वर्ष शिक्षण पेसामा थिए। एमए, बिएल, बिएड गरेका उनी पञ्चायतलाई समर्थन गर्दै २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिए। मरिचमान सिंहको मन्त्रिपरिषदमा आवास तथा भौतिक योजना सहायकमन्त्री रहेका खापुङ बहुदल आएपछि राप्रपामा आबद्ध भए। केन्द्रीय सदस्य, राजनीतिक सचिव, सहायक महामन्त्रीको खुट्किलो पार गर्दै उनी अहिले पार्टी महामन्त्री छन्।
परिवार दलका ढकाल भने २०४६ सालपछि स्वतन्त्र विद्यार्थी आन्दोलनमा सहभागी भई राजनीतिमा प्रवेश गरेका थिए। कुनै दलको सदस्यता नलिएका उनले संविधानसभाको निर्वाचन हुनु ठिक दुई महिनाअघि परिवार दलमा सहभागी भएका थिए। उनी दलका संस्थापक हुन् भने अहिले अध्यक्ष। उनले कोरियाबाट सामाजिक तथा मानवशास्त्रमा एमएसम्मको अध्ययन गरेका छन्।
Don't Miss
© all rights reserved
made with by netKUTI