लमजुङ, जेठ ५ – इन्डियन आईडल प्रशान्त तामाङ यतिखेर लमजुङको पर्यटकीय
घलेगाउँमा छन् । हनिमुन मनाउन मुस्ताङसम्म पुगेका प्रशान्त घलेगाउँमा भने
हनिमुन मनाउन आएका होइनन् ।
चलचित्र ‘निशानी’को सुटिङका लागि
प्रशान्त सोमबार घलेगाउँ आइपुगेका हुन् । प्रशान्त र नेपाल स्टार
प्रतियोगिता विजेता विष्णु चेम्जोङले चलचित्रका लागि बुधवार घलेगाउँमा कौरा
नृत्य गरेको निर्माण पक्षले जनाएको छ ।
लमजुङको ग्रामीण क्षेत्रमा लोकप्रिय मानिने कौरा नृत्यमा प्रशान्त र
विष्णुले राम्रोसंग नाचेको स्थानीय वासिन्दाले बताएका छन् । गएको वर्ष
लमजुङमा आयोजित आदिवासी जनजाति साँस्कृतिक महोत्सवमा प्रशान्त आउने सुनेर
उनलाई हेर्न सदरमुकाम बेशिशहरसम्म आइपुगेका स्थानीय वासिन्दाले त्यतिबेला
भने भेट्न पाएनन् । तर यसपटक आफ्नै गाउँमा भेटेपछि स्थानीय वासिन्दा खुशी
भएका घलेगाउँ ग्रामीण पर्यटन ब्यवस्थापन समितिका अध्यक्ष प्रेम घलेले
वताउनुभयो । बिनोद सेरेङको निर्देशनमा छायांकन भईरहेको चलचित्रमा
प्रशान्त र विष्णुसंगै अनु गुरूङ, प्रेम सुब्बा, सुरज रानाभाट, सिरू बिष्ट,
कोपिला थापा, जयनन्द लामा लगायतले अभियन गरेका छन् । लाहुरेको कथावस्तुमा
निर्माण हुन लागेको चलचित्र ‘निशानी’ मा प्रेम सुब्बा, सरोज भण्डारी र
ललिता धैगडेलले लगानी रहेको छ । ‘निशानी’मा पल्टनमा ज्यान गुमाएका
गोर्खालीको कथा समेटएिको नायक प्रशान्त तामाङले वताउनुभयो । चलचित्रमा
अहिलेका चर्चित संगीतकार बीबी अनुरागीको संगीत रहेको छ । जनकको द्वन्द्व
तथा युवराज राईको छायांकनमा निर्माण भईरहेको चलचित्र ‘निशानी’ घलेगाउँका
अलाव इलाम, सिक्किम र दार्जिलिङमा समेत सुटिङ गरिने निर्माण पक्षले जनाएको छ
। गायन क्षेत्रबाट अभिनय क्षेत्रमा आएका प्रशान्तले यसअघि ‘गोर्खा
पल्टन’, ‘किन मायामा’, ‘अंगालो यो मायाको’, ‘धड्कन भित्र’ जस्ता चलचित्रमा
अभियन गरिसकेका छन् । बिष्णुको भने यो पहिलो ठूलो पर्दाको चलचित्र हो ।