काठमाडौं, जेठ ९
पहिचान सहितको संघीयताको मागगर्दै आदिवासी
जनजाति संयुक्त सङ्घर्ष समिति लगायत बिभिन्न जातीय सङ्गठनहरुले आह्वान
गरेको बन्दको तेस्रो दिन पनि राजधानी काठमाडौं लगायत देशभरको जनजीवन
प्रभावित भएको छ । बन्दका कारण सडकमा बिहानैदेखि कुनै पनि सवारीका साधन
चलेका छैनन् भने बन्दकर्ताहरु सडक र चौकहरुमा निस्किएका छन् । सङ्घर्ष
समितिले बन्दकोक्रममा प्रेस, एम्बुलेन्स, शववाहन, लगायतका अत्यावश्यकीय
सवारीका साधनलाई निर्वाध रुपमा सञ्चालन हुन दिन आफ्ना कार्यकर्तालाई आग्रह
गरेको छ । पहिचानसहितको सङ्घीयता, पूर्ण समानुपातिक निर्वाचन प्रणाली,
राज्यको सबै अङ्ग र तहमा जनसङ्ख्याको आधारमा समानुपातिक र समावेशी
प्रतिनिधित्व तथा आत्मनिर्णयको अधिकार, प्रादेशिक स्वायत्तता र स्वशासन
लगाएतको मागगर्दै सङ्घर्ष समिति लगायत बिभिन्न जातीय सङ्गठनहरुले बन्दको
आह्वान गरेका छन् ।