काठमाण्डौं,जेष्ठ ३
दलहरूबीच संविधान निर्माणमा देखिएका
विवादहरूमा सहमति जुटेपछि सरकारमा सहभागी हुने निर्णय गरेको एमालेका दुई
मन्त्रीहरूलाई आज पद तथा गोपनीयताको सपथ गराइँदै छ । बिहान ११ बजेपछि
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति डा. रामवरण यादवको
उपस्थितिमा राष्ट्रपति कार्यालय शितलनिवासमा सपथ गराउने हुने
प्रधानमन्त्रीका निजी सचिवालयले जनाएको छ । एमालेले महासचिव ईश्वर पोखरेल र
केन्द्रीय सदस्य राधा ज्ञवालीलाई सरकारमा पठाउने निर्णय गरेको छ । महासचिव
पोखरेलले उपप्रधानमन्त्री पाउनुहुने भएपनि मन्त्रालयको टुङ्गो भने लागेको
छैन । एमालेका तर्फबाट सरकारमा सहभागी हुने थप नामावली र मन्त्रालयका
विषयमा छलफल गर्न एमाले स्थायी समितिको बैठक अहिले केहीबेरमा बस्दै छ ।
मन्त्रालय बाँडफाँटमा प्रधानमन्त्रीले आफूहरूलाई बेवास्ता गरेको भन्दै
यसअघि भट्टराई नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने निर्णय एमालेले गरेको
थियो । प्रमुख दलहरू बीचमा गत वैशाख २१ गते भएको पाँचबुँदे सहमतिअनुसार
नेकपा एमाले सरकारमा सहभागी हुन लागेको हो ।