काठमाण्डौं, जेष्ठ १३
संविधानसभाको म्याद सकिन अब दुई दिन
मात्रै बाँकी रहँदा दलहरूले सहमतिका लागि छलफललाई तीब्र बनाएका छन् । यही
क्रममा विवादित विषयमा सहमतिका लागि आज बिहान एकीकृत नेकपा माओवादी र
नेपाली काङ्ग्रेसका नेताहरूबीच छलफल भएको छ । तर दुवै दल आ–आफ्ना अडान
छाड्न तयार नभएपछि छलफल सामान्य कुराकानीमै सीमित भएको छ । यसैगरी माओवादी र
मधेसी मोर्चाबीच पनि अहिले वार्ता हुँदै छ ।
संविधान निर्माणमा देखिएको विवादित
बुँदाहरूमा नजिक देखिएको माओवादी र मोर्चाले आजै बस्ने काङ्ग्रेस र
एमालेसहितको संयुक्त बैठकमा आफ्नो अडान कडा रूपमा उठाउने तयारी गर्ने भएका
छन् । भोलि नै संविधान जारी गर्ने हो भने सङ्घीयतालाई छुटाउन नहुनेमा
माओवादी र मधेसी मोर्चा एकमत देखिएका छन् । विवादित बुँदाहरूमा सहमतिका
लागि दलहरूले आज अन्तिम प्रयास जारी राखेका छन् । यसका लागि मुख्य चार
शक्तिको बैठक दिउँसो १ बजेपछि बस्ने भएको छ ।