Responsive Ad Slot

latest

भारतपछि चीनले नेपालमा चेन मल्टिप्लेक्स सिनेमालाई विस्तार गर्नेभएको छ

Friday, May 25

/ by Admin BHOLA THAPA
भारतपछि चीनले नेपालमा चेन मल्टिप्लेक्स सिनेमालाई विस्तार गर्नेभएको छ । चीनको ठूलो मनोरञ्जन कम्पनी डालियान वानडा ग्रुपले नेपालसहितका छिमेकी राष्ट्रहरूमा थिएटर बिस्तार गर्ने लागेको खबर चीनको सरकारी टेलिभिजन सीसीटीभीले प्रसारण गरेको छ । भारतका अर्बपति मुकेश अम्बानीको रिलायन्सले काठमाडौंमा बिग सिनेमा चेन थिएटर संचालन गरिरहेको छ । यसलाई चीनको आर्थिक र सांस्कृतिक प्रभाव विस्तारको रुपमा लिइएको छ ।वानडा ग्रुपले अमेरिकी चेन सिनेमा एएमसी इन्टरटेनमेन्ट होल्डिङस इनकर्पोरेसनलाई बुधबार २.६ विलियन अमेरिकी डलरमा खरिद गरेर विश्वकै ठूलो मल्टिप्लेक्स संजाल बनेको छ । लगत्तै, सीसीटीभीसँग चीनका अर्बपति तथा वान्डा प्रमुख वाङ जिआनलिनले छिमेकी मुलुकहरूमा थिएटर विस्तार गर्ने योजना सुनाउँदा नेपालको नाम उल्लेख गरेका हुन् । चीनको उत्तरपूर्वी डालियानमा रहेको उक्त कम्पनीले युरोपको एक ठूलो चेन सिनेमालाई खरिद गर्ने पनि बताएको छ ।‘यो कदम वान्डाको ओभरसिज बजार विस्तारको सुरुआत मात्र हो’ हङकङस्थित चाइना मर्चेन्ट्स सेक्युरिटीका प्रबन्ध निर्देशक रोनाल्ड वानले एजेन्सीसँग भने, ‘सिनेमा हल राजनीतिक रुपमा संवेदनशिल सम्पत्ति होइनन् । त्यसकारण यसले अमेरिका र अन्य मुलुकसँग राजनीतिकरुपमा खराब परिस्थितीको सिर्जना गर्दैन ।’ केही महिनाअघि नेपालका लागि चिनियाँ राजदूत याङ होउलानले राजनीतिक स्थिरता भए चीन नेपालमा लगानी विस्तारका लागि इच्छुक रहेको बताएका थिए । सो क्रममा उनले सिनेमा ब्यावसाय पनि जनाएका थिए । वान्डाले आफ्नो खर्चलाई ५ सय अमेरिकी डलरले कटौती गरेर त्यसबाट थिएटर अपग्रेडमा लगानी गर्ने घोषणा पनि गरेको छ । भिडियो अन्तवार्तामा एएमसी थिएटरका प्रमुख कार्यकारी अधिकृत गेरार्डो लोपेजले आइम्याक्स र थ्रीडीसहित थिएटर अपग्रेड गरिने बताएका छन् । चीनको बक्सअफिस कलेक्सन गतवर्ष ३५ प्रतिशतले बढेर २ विलियन अमेरिकी डलर पुगेको थियो । हलिउड सिनेमाका लागि चीन अमेरिका र जापानपछिको तेस्रो ठूलो बजार हो ।

नेपालमा कस्तो प्रभाव पर्ला ?
चीनको यस्तो संकेतले भारतलाई अझै प्रतिस्पर्धी तुल्याउन सक्छ । वान्डा चेन विस्तारले नेपाली लगानीमा चलिरहेका क्यूएफएक्सजस्ता ठूला हललाई थप अपग्रेड हुन दवाव पर्नेछ । त्यो भनेको तत्काललाई –क्यूएफएक्स आइम्याक्समा जानैपर्छ भन्ने हो ।
Don't Miss
© all rights reserved
made with by netKUTI