काठमाडौं बैशाख २१ गते । - राष्ट्रिय सहमतिको सरकार र संविधानका विवादित विषयमा सहमति जुटाउन मुख्य दलहरूको बैठक बस्दैछ । नयाँ बानेश्वरको संविधानसभा भवनमा केहीबेरमा बस्ने बैठकमा दलहरूले प्याकेजमा सहमति जुटाउने विषयमा छलफल गर्नेछन् ।
एकीकृत माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको बैठकमा राष्ट्रिय सहमतिको सरकारको स्वरुप र सहभागिताको बारेमा निर्णय हुने नेताहरूले बताएका छन् । प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै नेतृत्वमा आजै राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको भनिए पनि विवादित विषय टुङ्गो नलागेसम्म अहिले सरकार पुनर्गठन नहुने मन्त्रीहरूको अभिव्यक्ति आएकोले आजको बैठक विवादित विषयलाई छिनोफानो लगाउने विषयमा केन्द्रीत हुने भएको छ ।