वैशाख ३१, काठमाण्डौं
हालै गठित काठमाण्डौ नगर विकास समितिका
प्रमुख आयूक्त केशव स्थापितले सुकुम्बासी भनेर आउने सबैलाई काठमाडौमा घर
बनाएर दिने घोषणा गर्नुभएको छ । नेपाल महिला एकता समाज, नेपाल बसोबास बस्ती
संरक्षण समाज र लुमन्तीले आज रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको
साक्षात्कारमा स्थापितले दिनमा २० देखि ३० वटा तीन कोठे घर निर्माण गरेर
राजधानीको चोभारमा बाग्मती किनारबाट विस्थापित सबैलाई पुर्नस्थापना गर्ने
काम सुरु भएको पनि बताउनुभयो । उहाँले सुकुम्बासीलाई बसोबासको ब्यवस्था
गर्नु राज्यको कर्तब्य भएको भन्दै सुकुम्बासी भनेर आउने सबैलाई घर दिन
सकिने योजना आफूसँग रहेको दाबी पनि गर्नुभयो । तत्कालका लागि चोभारमा टेण्ट
बनाएर बस्ने व्यवस्था गरिने भन्दै त्यसका लागि सरकारले सुुकुम्बासीलाई १५
हजार रुपैयाँ राहतसमेत दिने बताउनुभाये । कार्यक्रममा नेपाल महिला एकता
समाजकी अध्यक्ष विमला लामाले उठिबास लगाईका सुकुम्बासीलाई वैकल्पिक
ब्यवस्था नहुन्जेलका लागि तत्काल बसोबास र खानपानको व्यवस्था मिलाउन माग
गर्नुभयो । सुकुम्बासी सीता दनुवारले सरकारले भने अनुसारको चोभारमा
पुर्नस्थापना गर्ने विषयमा आफूहरुलाई आशा नभएको भन्दै आफूहरुको वैकल्पिक
व्यवस्था नहुन्जेल बसोबास, खानपिनको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।