पारस गत भदौमा थाईल्याण्डको बैकक गएका थिए । त्यसयता एक पटक पनि स्वदेश फर्केका छैनन् । यति लामो समयसम्म उनी विदेश बसेको यो नै पहिलो पटक हो । यस अघि उनी तीन चार महिनाको अन्तरालमा काठमाण्डौ आउने गरेका थिए ।
१ जेठ, काठमाण्डौ । पूर्वयुवराज पारस शाह विगत साढे दुई महिना अघिदेखि परिवार र साथीहरुको सम्पर्क बाहिर रहेका छन् । पूर्वयुवराज्ञी हिमानी र पूर्वराजपरिवारले नियमित सम्पर्कको प्रयास गरेपनि पारस सम्पर्कमा आएका छैनन् ।
साढे दुईमहिना यता भने उनले परिवारका सदस्य तथा पत्नि हिमानीलाई पनि फोन सम्पर्क नगरेको खबर आजको सौर्य दैनिकले छापेको छ । त्यस अघिसम्म नियमति रुपमा बुवाआमा र हिमानीलाई फोन सम्पर्क गरी उनले सन्चो विसन्चो सोध्ने गरेको भएपनि अहिले भने एकाएक सम्पर्क बाहिर रहेका छन् ।
पारसले अहिले आफ्नो मोवाईल नम्बरपनि परिवर्तन गरेका छन् । पारसका एक साथीले भने ‘अपि्रल फुलका दिन मलाई एक पटक फोन गरेका थिए । कुराकानी गर्दै गर्दा फोन काटियो त्यसपछि सम्पर्क भएको छैन् ।, ‘साढे दुई महिनाअघिसम्म उहाँसँग नियमित सम्पर्क हुन्थ्यो । उहाँले एकाएक किन सम्पर्क टुटाउनुभयो । मैले बुझ्न सकेको छैन ।’
पारसका एक छोरा र एक छोरी पनि बैंककमै पढने गर्छन् । आफ्नो छोरा र छोरीसँग भने उनी सम्पर्कमा रहेको स्रोतको भनाइ छ । पारस सम्पर्कमा नआएपछि हिमानी र उनको परिवार चिन्तित रहेको र अनेक आशंका गरेको पनि स्रोतले बतायो ।
स्रोतका अनुसार पारस विदेशमा रहँदा उनका केही निकट साथी बेला–बेला उनलाई भेट्न बैंकक र सिंगापुर जाने गर्थे । उनले आफैँ ती साथीलाई बोलाउने गर्थे । तर, यसपटक साथीहरूलाई पनि बोलाएका छैनन् ।
स्रोतका अनुसार स्वदेशमा रहँदा उनी देशको राजनीतिक परिस्थितिबारे ‘फ्रस्टेड’ भएका थिए । ‘बुबा र मेरो कुरा मिल्दैन’ भन्दै उनी बैंकक गएको पारसनिकट स्रोतको दाबी छ । राजतन्त्र अन्त्यपछि पारस कहिले स्वदेश र कहिले विदेश बस्दै आएका छन् । सुरुमा उनी सिंगापुर बस्ने गर्थे भने डेढ वर्षयता बैंककमा बस्दै आएका छन् ।