विवादित विषयमा प्रक्रिया र सहमतिको प्रयास सँगसँगै लैजाने दलहरूको सहमति ।।
नेपाल समाचार 2012, May, 9th, Wed, 06:59:19amकाठमाण्डौं,बैशाख २७
दलहरूले संविधान निर्माणका क्रममा देखिएका बाँकी विवादहरूलाई संविधानसभामा मतदानको प्रक्रियाबाट टुङ्ग्याउने सहमति गरेका छन् । आज बिहान बसेको संवैधानिक समितिको बैठकमा नेताहरूले विवादित विषयहरूलाई औपचारिक प्रक्रियामा लग्ने निर्णय गरेका हुन् । विभिन्न विषयमा रहेको विवादित विषयहरूको बारेमा समितिले सदस्यहरूलाई जानकारी गराएको छ । यसअघि आजै बसेको विवाद समाधान उपसमितिको बैठकले पनि संविधान लेखनका विषयमा देखिएका विवादित विषयलाई प्रक्रियामा लग्ने निर्णय गरेको थियो । उपसमितिकै निर्णयअनुसार प्रक्रियामा लग्ने प्रस्ताव संवैधानिक समितिले अनुमोदन गरेको हो । लामो प्रयासबाट पनि सहमतिमा पुग्न नसकेपछि दलहरू यस्तो निर्णयमा पुगेका हुन् । यसैबीच नेताहरूले प्रक्रिया सँगसँगै सहमति पनि खोज्दै जाने बताएका छन् । समितिको बैठकपछि एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विवाद टुङ्गो लगाउने जिम्मेवारी मुख्य नेताहरूबाट संविधानसभामा ६ सय १ सभासद्हरूको काँधमा पुगेको बताउँदै आफूहरूले सहमतिका लागि थप प्रयास जारी राख्ने बताउनुभयो । यसैगरी एमाले अध्यक्ष झलनाथ खनालले नमिलेका कुराहरू मिलाउने प्रयत्न निरन्तर अघि बढ्ने बताउनुभयो । काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले मुलुकमा सङ्घीयतासहितकै संविधान आउने आश्वासन दिनुभयो ।
संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले विवादित विषयहरूको सूची सदस्यहरूलाई दिई सकेको र सदस्यहरूको सुझावबारे भोलि बिहान ८ बजे बस्ने बैठकमा छलफल गरिने बताउनुभयो । अब दलहरुबीच सहमति नभएमा विवादित विषयमा मतदानको प्रक्रियाबाट अगाडि बढ्ने स्थिति सिर्जना भएको छ । राज्यको पुनःसंरचना र शासकीय स्वरुपका विषयमा दलहरूबीच चर्को विवाद रहेको छ ।