६ वैशाख, चितवन। सोमबारबाट चितवनको सौराहमा अभिनेता
आर्यन सिग्देल र अभिनेत्री निशा अधिकारीले धुँवा उडाउन थालेका छन् ।
अर्थात आईतवार मुहुर्त गरि सोमबारबाट लागूऔषधको बिषयमा 'धुँवा' नामको
फिल्मको सुटिङ शुरू गरिएको छ जसमा आर्यन निशा केन्द्रिय पात्रको रूपमा
अभिनय गर्दैछन् ।
लागूऔषधमा फस्नुको कारण र त्यसले समाज र
व्यक्तिगत जीवनमा पार्ने नकारात्मक प्रभावलाई देखाउन खोजिएको सो फिल्मलाई
युवानिर्देशक लक्ष्मण रिजालले निर्देशन गरिरहेका छन् । लक्ष्मणकै कथा
रहेको सो फिल्मलाई उनकै दाजु रामप्रसाद रिजालले निर्माणमा सहयोग गरिरहेका
छन् । फस्टलभ पछि स्क्रिनमा एकसाथ नदेखिएको यो जोडीलाई लक्ष्मणले देखाउने
प्रयास गरेका हुन् । यसअघि आर्यनले 'ब्ल्याक मेल' मा निशासँग काम नगर्ने
बताएका कारण सो फिल्मबाट निशालाई पनि राखिएको थिएन । तर अहिले भने यो जोडी
अनस्क्रिन रोमान्सका लागि राजि भएको छ ।
यसअघि लागूऔषधको बिषयमा 'वान डे' र
शहरिया डनहरूको कथामा 'कसम' निर्देशन गरेका लक्ष्मणले कथा सुहाउँदो आर्यन
र निशा फिट हुने भएकाले उनीहरूलाई लिएको बताए । फिल्ममा लागूऔषधको बिषयको
साथमा प्रेमका आरोह अवरोहलाई पनि प्रस्तुत गरिने निर्देशक रिजालको भनाई छ
। लोचन घिमिरेको संगीत, रामेश्वर कार्कीको छायाँकन तथा अष्ट महर्जनको
द्धन्दनिर्देशन रहेको सो फिल्मको अधिकांश भागको छायाँकन चितवन र आसपासका
क्षेत्रमा गरिने बताईएको छ । साभार फिल्मीखबर बाट