काठमान्डौ १९ चैत ।
माओवादी लडाकूको रेखदेख तथा पुनःस्थापना सम्बन्धि सेना समायोजन विशेष समितिको बैठक सुरु हुँदैछ । अहिले केहीबेरमा समितिको सचिवालय नयाँ बानेश्वरमा बस्ने बैठकमा माओवादी लडाकूको फेरि गर्ने बर्गिकरण, स्वइच्छिक अवकासको कार्यक्रम बारे छलफल हुनेछ । चैत्र मसान्त सम्म माओवादी लडाकू नेपाली सेनाको जिम्मा र हतियार सरकारलाई बुझाउने सहमति भएपनि दर्जा मिलाउनमा सहमति भइसकेको छैन ।
माओवादीले एउटा जनरल पाउनु पर्नेमै अडान राखेको छ, भने कांग्रेस एमालेले सेनानी भन्दा माथि जान नसकिने बताएकमा छन् । स्रोतका अनुसार त्यसको बीचमा रहेर एउटा प्रमुख सेनानी पद दिनेगरि सहमतिको प्रयास भइरहेको छ । आजको बैठकमा यसअघि शुक्रबारको बैठकमा सहमति भएको सेनानी सम्मको पदमिलाउनमा अपनाउने प्रक्रियाका विषयमा छलफल हुने समितिका सदस्य कांग्रेस नेता डाक्टर मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।
सचिवालयले तयार पारेको समायोजनको कार्ययोजना र विशेष समितिको सहमति अनुसार समायोजनको प्रक्रिया आजैबाट सुरु हुन सक्ने पनि रिजालले सीआइएनलाई बताउनुभयो । बैठक ८ बजे नै बोलाइएपनि अहिले सम्म सुरु भइसकेको छैन ।