सुमन बैरागी
काठमान्डौ १९ चैत । गायक तथा रचनाकार टीका क्षेत्री प्रकृतिको चर्चित गीत चैते दशैं मेलैमा लाइदेउ माया भेटभाको बेलैमा बोलको गीत चोरी गरिएको छ । उक्त गीत गायक क्षेत्रीले आफ्नै कम्पनी नमस्ते म्यूजिक सेन्टरबाट प्रकाशनमा ल्याएका थिए । उनकै कम्पनीबाट सिआरबीटी, पीआरबीटी दर्ता भएको थियो । टीका क्षेत्री प्रकृति र विष्णु माझीको स्वरमा स्वरबद्ध भएको उक्त गीतलाई चोरी गर्न सफल भएका छन् दिल श्रीस मगर ।
दिल श्रीस मगरले गायक गायिकाको नाम नै परिवर्तन गरेर संरक्षण डिजिटल उत्पादक कम्पनीको नाम दिएर गीतको बोल नै परिवर्तन गरी सीआरबीटी, पीआरबीटी र यूटिएलको रिङब्याक टोन राख्न सफल भएका छन् । मगरले गीतको बोल चैते दसै मेलैमा लाइदेउ माया भेट भाको बेलैमा लाई परिवर्तन गरी तेस्रो बागलुङ महोत्सव २०६८ राखेको गायक क्षेत्रीद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।
गायक टीका क्षेत्रीले आफ्नो गीत चोरी भएको भन्दै विज्ञप्तीमार्फत् नेपाल संगीत उद्योग संघ लगायतका सम्बन्धित निकायहरुमा ध्यानाकर्षण गराएका छन् । उनले नेपाल प्रतिलिपी अधिकार ऐन २०५९ विपरीतको घृणित कार्य गरी अर्काको सिर्जना चोरी गर्ने अपराधिलाई कारवाहीको माग गर्दै अहिले न्यायको लागि सम्बन्धित निकायहरुमा धाउन थालेका छन् । कला, संस्कृतिको संरक्षण गर्नका लागि निरन्तर रुपमा लागिपरेका कलाकार क्षेत्रीको गीत चोरी गेर्ने संगीत अपराधीका रुपमा उभिएका दिल श्रीस मगरमाथि कारवाहीको माग गर्दै क्षेत्रीले आफ्नो सिर्जनामाथि न्याय दिलाइदिन सबै समक्ष माग गरेका छन् ।
स्मरण रहोस् यसभन्दा अघि पनि केही संगीत कम्पनी र गायकहरुको मिलेमतोमा सीआरबीटी चोरी गरी रातारात महल ठड्याउन सफल भएकाहरुमाथि सरकारले कारवाही अगाडि बढाएको भए पनि उनीहरुलाई केही रकमको आशमा मुक्ति दिलाएको थियो ।
करोडौं घोटला गरी संगीपारखीहरुको सिर्जनामाथि धावा बोल्ने संगीत अपराधीहरुलाई मुक्ति दिनुले उल्टो अपराधीलाई संरक्षण दिइएको प्रष्ट हुन्छ । तर यस्ता अपराधीहरुलाई कारवाही नगरिने हो भने गायक टीका क्षेत्री मात्र होइन धेरै कलाकारहरुको सिर्जनामाथि ठगी हुने क्रमले निरन्तरता पाइरहनेछ । यसप्रति संगीत क्षेत्रमा क्रियाशील सबै संगीतकर्मी, संगीत उद्योग, रोयल्टी समायज, प्रतिलिपी अधिकार मञ्च लगायतका संघसंस्थाले ध्यान दिनु जरुरी छ ।
http://www.youtube.com/watch?v=ku4qs3pH404&feature=player_detailpage#t=233s