Responsive Ad Slot

latest

हप्ता दिन नमाने पछि वन कर्मचारीले घर टहरा भत्कायो सुनवलको ज्यामिरेमा विरोधमा उत्रिएका माथि लाठी चार्ज, एक दर्जन घाइते

Tuesday, April 17

/ by Anonymous


नवलपरासी, ५ बैशाख ।
 नवलपरासीको सुनवल ७ स्थित ज्यामिरेको जंगल क्षेत्रमा नयां घर बनाएको भन्दै घर भत्काउन गएका प्रहरी र वनका कर्मचारीहरुको विरोधमा उत्रिने स्थानीयमाथि प्रहरीले बल प्रयोग गर्दा एक दर्जन बढी घाइते भएको छन् ।
ती मध्ये चार जनाको अवस्था गम्भीर रहेको स्थानीय नारायण आचार्यले बताए ।
गम्भीर घाइते हुनेमा गीता ढकाल, सीता चापागाई, अस्मिता देवकोटा, खड्क धामी रहेका छन् । उनीहरु सबैको बुटवलतर्फ उपचारका लागि लगिएको छ ।
ज्यामिरेमा विगत १५ बर्षदेखि स्थानीय सुकुम्बासीहरुले घर बनाएर बस्दै आएको भए पनि प्रहरी र वनले भने पछिल्लो पटकमात्र घर टहरा भत्काएको स्थानीय बासिन्दाहरुले जनाएका छन् ।
वनका कर्मचारीहरुले नियमित रुपमा हप्ता उठाउने गरेकोमा यस पटक ३, ४ लाख हप्ता मागेको कारण दिन नसक्ने भएपछि मंंगलबार घर भत्काएको उनीहरुले आरोप लगाएका छन् ।
प्रहरीले उदय गुरुङ र टिचन गुरुङको घर भत्काएका छन् भने टिचन गुरुङलाई पक्राउ गरेको छ । पक्राउ परेका गुरुङलाई वन अतिक्रमण मुद्धा चलाउने जिल्ला वन अधिकृत सोहरतप्रसाद ठाकुरले बताए ।
ठाकुरले भने आफूहरुले कुनै हप्ता नउठाएको र पटकपटक सूचना जारी गर्दा समेत अटेर गरेपछि बल प्रयोग गरेको जनाएका छन् । टिचन गुरुङ सामुदायिक वन उपभोक्ता महासंघ नवलपरासीका कोषाध्यक्ष हुन् ।
स्थानीयले घर भत्काएको विरोधमा सडक समेत अवरुद्ध गरेको थियो । सडक बन्द गरेर विरोधमा उत्रेपछि बल प्रयोग गर्नुपरेको सुनवल प्रहरीले जनाएको छ ।
अवरुद्ध सडक प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा नवलपरासीका अध्यक्ष कमल परियारले भने बल प्रयोग गरिएको घटनाको विरोध गर्नुभएको छ । उहांले पुरानो बस्ती हो भने हटाउन नमिल्ने र वस्ती पुरानो हो या होइन अनुसन्धान गरेर मात्र कमद चाल्नु पर्ने बताउनुभएको छ ।
नवलपरासीको गैडाकोटको थुम्सी, भेडाबारी, कावासोतीको फलफूलचोक, शिवमन्दिर १ को राममन्दिर, अग्यौठी ९ डण्डा, शिवमन्दिर ४ लोकाहा, दुम्किबासको दाउन्ने, बर्दघाट, सुनवल लगायतका क्षेत्रमा वन अतिक्रमण गरेर घर, टहरा, विद्यालय एवम् विभिन्न संघसंस्थाहरुको भवन र मन्दिर, गुम्बा लगायत बन्दा पनि अतिक्रमण हटाउन भने कुनै चासो दिएको छैन ।
रामकुमार श्रेष्ठ । नवलपरासी

Don't Miss
© all rights reserved
made with by netKUTI