गोरखा, २९ चैत । बर्दीको आडमा ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने एकजनालाई आज गोर्खा ठाँटीपोखरी प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गोरखालाई बुझाएको छ । लेखनाथनगरपालिका–१२ का रेगन थापालाई जिल्लाको ठाँटीपोखरी प्रहरी टोलीले च्याँङ्ली गाविसमा राति स्थानीयवासीको घरमा ‘प्रहरी हुँ’ भन्दै ठगी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । अभियुक्त थापा चार वर्ष दमौली कारागारमा लागुपदार्थ कारोबारमा संलग्न भई जेलबाट छुटेको ठाँटीपोखरी प्रहरी कार्यालयका प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताउनुभयो । यसैबीच गोरुले मकै खाएको निहुँमा सामान्य विवाद हुँदा खुर्पा प्रहार गरी मीना कोइरालाको हत्या गर्ने अभियुक्तलाई गोरखा प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । खोप्लाङ–२ का ३६ वर्षीय सोमबहादुर गैरेलाई इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट गएको टोलीले गोरखा च्याङ्ली–९ अबन्डामा लुकी बसेको अवस्थामा पक्राउ गरेको हो । अभियुक्त गैरेले प्रहरीसामु गोरु पिटेको निहँुमा झगडा हुँदा रिसको झोकमा हत्या गरेको स्वीकार गरेका छन् । गैरेलाई मङ्गलबार नै जिल्ला प्रहरी कार्यालय गोरखामा राखिएको छ । यसैबीच गएराति गोरखा जिल्ला कालीमाटी चोकस्थित एक घरमा भाडामा बस्ने चार वर्षीय प्रसन्न बञ्जाडेको घरको छतबाट खसेर उपचारका लागि गोरखा अस्पताल लाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।