Responsive Ad Slot

latest

सुन्दा नै अचम्म लाग्ने खेवारो देवीको मन्दिर ?

Saturday, April 28

/ by Anonymous
मीना थापा मगर

पोखरा, वैशाख १६

सुन्दा नै अचम्म लाग्ने खेवारो देवीको मन्दिर शनिबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । पो.उ.म.न.पा.–२, फिर्केखोलाको किनारमा निर्मित खेवारो थान(मन्दिर) को ८८ वर्षीय बयोबृद्धा देवीसरा पाइजा पुन र ७६ वर्षीय रतीकला पुर्जा पुनले संयुक्त रुपमा उद्घाटन गर्नुभएको होे । खेवारो पर्वको अवसरमा पश्चिमक्षेत्रका पुन मगरहरुले रुइमाला देवीको नाममा खेवारो पुजा गर्ने गर्दछन् ।

परम्परादेखि नै बैशाख तथा जेठ महिनामा गरिने सो देवीको पूजा महिलाहरुले मात्र गर्ने गर्दछन् र पुरुषहरुलाई प्रवेश निशेध गरिएको हुन्छ । चलिआएको कथन अनुसार रुइमाला भन्ने महिला गर्भवती भएको अवस्थामा मृत्यु भएपछि देवी बन्न पुगेकाले उनको पूजाको समयमा पुरुषहरुलाई निषेध गरिएको भन्ने भनाइ छ । पुरुषको प्रवेश भएमा देवी रिसाउने र अशुभ हुने खेवारो समितिका अध्यक्ष मनकुमारी पुन मगरले बताउनुभयो । यदि पुरुषको प्रवेश भएमा जरिवाना समेत तिराइ दण्ड सजाय दिने उहाँको भनाइ छ । परम्परादेखि नै लेकमा बसोबास गर्ने पुन मगरहरुले आफ्नो घरपाही पर्ने बन जंगलमा गई उक्त देवीको पूजा गर्दै आएको पाइन्छ । विभिन्न स्थानमा बस्ने मगरहरुले खेवरो पूजा, रुइमाला देवीको पूजा, हेरला पूजा भनेर विभिन्न नामले पूजा गर्ने गरेको पाइन्छ । पूजाको दिन महिलाहरु जाग्राम बसी विभिन्न गीत, नृत्य प्रस्तुत गरी रुइमाला देवीलाई रिझाउने गर्दछन् ।

यसैबीच वभिन्न स्थानबाट बसाइ सरी कास्कीमा बसोबास गर्ने पुन मगर महिलाहरुको पहलमा गठन गरिएको खेवारो समितद्धारा उक्त देवीको थान निर्माण गरिएको हो । कैयौं वर्षदेखि मनाइदै आएको खेवारो पर्व अथवा खेवारो पूजा अहिले विभिन्न कारणले लोप हुने अवस्थामा रहेकाले यसलाई निरन्तरता दिनको लागि उक्त मन्दिरको स्थापना गरिएको अध्यक्ष पुनको भनाई छ । देश तथा विदेशमा रहेका पुन मगरहरुको आर्थिक सहयोगमा सो थानको निर्माण गरिएको मन्दिर निर्माण प्रबन्धक हर्क पुन मगरले बताउनुभयो । उक्त थान निर्माणका लागि रु १ लाख २ हजार ४ सय ९५ रुपौया खर्च भएको उहाँले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न स्थानका पुन मगर महिलाहरुले महिला सम्बन्धी चेतनामूलक नाटक, प्रहसन समेत गरेका थिए । नदीपुर आमा समूहले स्वागत गीत, अर्घौ आमा समूहले अन्धविश्वास शीर्षकको नाटक, अर्चलबोट आमा समूहले शिक्षामूलक नृत्य तथा ढुङ्गेपाटन आमा समूहले विदेशमा भर्ति हुने लाहुरेहरुले भोग्नुपर्ने पीडाको बारेमा नाटक प्रस्तुत गरेका थिए ।

खेवारो समितिका अध्यक्ष मनकुमारी पुन मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कमला पुन मगरले गर्नुभएको थियो भने शुभकामना मन्तव्य उपाध्यक्ष जितु पुनले गर्नुभएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI